जनताको पक्षमा केही काम भएन भन्ने भ्रम सृजना गर्न खोजियो : पूर्वप्रधानमन्त्री नेपाल

राजनीति समाचार

जानकी (बाँके), २५ मङ्सिर : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूले विकास निर्माण एवं जनताका पक्षमा केही पनि काम गरेनन् भनेर भ्रम सृजना गरिएको बताउनुभएको छ ।

नेपालगञ्जमा आज आयोजित बाँके जिल्लास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उहाँले आफूहरू सरकारमा रहँदा देश र जनताका पक्षमा उल्लेख्य काम गरेको भए पनि त्यस्ता राम्रा र विकासका कामलाई दबाउने गरी जनतामा भ्रम सृजना गरिएको आरोप लगाउनुभयो ।

“हिजोसम्म भन्दै थियौँ, कहिले नेकपा (एमाले), कहिले माओवादी, कहिले त समाजवादी । अब हामीले यसको नाम ‘नेपाली कम्युनिष्ट पार्टी राखेका छौँ । यो पार्टी नेपालको राजनीतिमा चम्किलो ताराजस्तै चम्किरहेको छ”, उहाँले भन्नुभयो, “यो पार्टीले अब गरिब, विपन्न समुदायका लागि थुप्रै काम गर्नेछ ।”

सहसंयोजक नेपालले त्याग, तपस्या र बलिदानको परीक्षामा उत्तीर्ण भएकाहरूले नै देशको नेतृत्व गर्न सक्ने बताउनुभयो । जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै समाजवाद भएको उहाँको भनाइ छ ।

विसं २०६६ मा आफू प्रधानमन्त्री हुँदा ‘जनता आवास कार्यक्रम’ ल्याएको स्मरण गर्दै नेता नेपालले भन्नुभयो, “जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्नु नै हाम्रो पार्टीको मुख्य उद्देश्य हो, जसको घर छैन, उसलाई सरकारले घर दिनुपर्छ भन्ने निर्णय गर्ने प्रधानमन्त्री म नै थिएँ ।”

आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै नेता नेपालले नयाँ नेपालको सपना बोकेर अगाडि बढ्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतलगायत नेताले समाजवादी अभियान लिएर आफूहरू जनतामा आएको उल्लेख गर्दै आगामी निर्वाचनमा नेकपा सबैभन्दा उत्कृष्ट पार्टी हुने विश्वास व्यक्त गर्नुभयो ।