काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा झडप र हिंसा बढ्दै जाँदा थाइल्यान्डले कम्बोडियाको क्षेत्रमा गरेको आक्रमणमा सात सर्वसाधारणको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । कम्बोडियाको संघीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडियाका क्षेत्रहरूमा गोलाबारी भएको जनाउँदै घटनाको पुष्टि गर्नु भएको हो । उहाँले आक्रमणहरूलाई “अमानवीय र क्रूर“ भनी टिप्पणी पनि गर्नुभएको छ । उहाँले आक्रमणहरू मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थता र अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको उपस्थितिमा गत अक्टोबरमा भएको युद्धविराम सम्झौता र संयुक्त घोषणापत्रको विरूद्ध भएको बताउनु भएको छ । यता थाई सेनाले पनि कम्बोडियासँगको झडपमा दुई सैनिकको मृत्यु भएको जनाएको छ । यससँगै आइतबार युद्ध पुनः सुरू भएयता मृत्यु हुने थाई सेनाको सङ्ख्या तीन पुगेको छ । थाइल्यान्ड र कम्बोडियाबीच ८ सय १७ किलोमिटर सीमा जोडिएको छ भने धेरै क्षेत्रहरूमा लामो समयदेखि विवाद छ ।