काठमाडौं, १ पुस । हरेक वर्ष डिसेम्बर १८ मा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस यस वर्ष पनि नेपालमा विशेष महत्वका साथ मनाइने भएको छ । सन् २०२५ को अन्तर्राष्ट्रिय आप्रवासन दिवसलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न कार्यक्रमसहित सभ्य, भव्य र अर्थपूर्ण रूपमा मनाउने निर्णय गरेको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको मुख्य विषयवस्तु (Theme) “Honoring the contributions of migrants and respecting their rights” रहेको छ । साथै राष्ट्रिय मूल नारा “श्रम आप्रवासनको चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” तय गरिएको छ । यस Theme तथा नारामार्फत श्रम आप्रवासनको सम्पूर्ण चक्रमा सुशासन, श्रमिकको योगदानको सम्मान, अधिकारको संरक्षण तथा सुरक्षित रोजगारीको महत्वलाई उजागर गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ लाई प्रभावकारी रूपमा मनाउन मन्त्रालयको समन्वयमा सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार संस्था तथा सम्बन्धित संघ–संस्थाहरूको सहभागितामा गोष्ठी, छलफल, र विविध सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनेछन् । कार्यक्रम व्यवस्थापनका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा मूल समारोह कार्य व्यवस्थापन समिति गठन गरिएको छ ।
दिवसको अवसरमा विदेशस्थित नेपाली नियोग, प्रदेश तथा स्थानीय तहहरूले पनि विभिन्न अन्तरक्रियात्मक, सहभागितामूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् । साथै सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह, पत्रकारहरूसँग अन्तरक्रिया, रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता, वाकाथन तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्देशमूलक सामग्री वितरणलगायत कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ लाई सबै सरोकारवालाको सक्रिय सहभागितामा अर्थपूर्ण बनाउने लक्ष्य राख्दै सुरक्षित, मर्यादित तथा सीपयुक्त श्रम आप्रवासन प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य र सहयोगको अपेक्षा गरेको छ ।
