कांग्रेस महाधिवेशनमा पेशागत सङ्घसंस्थालाई प्रतिनिधित्वको माग

मुख्य समाचार राजनीति

काठमाडौँ, ३ पुस : नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकारमात्र होइन, उम्मेदवारी दिने पूर्ण अधिकारसहितको महाधिवेशन प्रतिनिधि बनाउनुपर्ने माग उठेको छ ।

नेपाल प्रेस युनियनले आज आयोजना गरेको बैठकमा लोकतन्त्रप्रति आस्थावान पेशागत सङ्घसंस्थाका प्रतिनिधिहरूले कांग्रेसले यस्ता संस्थालाई नीति निर्माणमा उचित महत्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बैठकमा सहभागीहरूले कांग्रेसलाई नेपालको लोकतन्त्रको ‘च्याम्पियन’ मानिए पनि व्यवहारमा पेसागत सङ्घसंस्थालाई ‘थिङ्कट्याङ्क’का रूपमा समावेश नगरेको आरोप लगाए । उनीहरूले पार्टीले यस्ता संस्थालाई सदैव शुभेच्छुक र मतदातामात्र ठानेको तथा महाधिवेशनमा मतदानको अधिकार दिएर उम्मेदवारीबाट वञ्चित गरेको प्रथा लोकतान्त्रिक नभएको तर्क गरेका छन् ।

त्यसैगरी राष्ट्रियसभा विज्ञहरूको सभा भएको स्मरण गर्दै पत्रकार, वकिल, डाक्टर, प्राध्यापक, इन्जिनियर र शिक्षकलाई राष्ट्रियसभा तथा प्रतिनिधिसभामा समेत उम्मेदवार बनाउन दबाब दिने निर्णय बैठकले गरेको छ ।

बैठकमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का अध्यक्ष सीताराम केसी, प्रजातन्त्रवादी चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्की, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का रविभूषण झा, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिना र नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरीको सहभागिता थियो ।