दाप्चा / भारतको देहरादुनमा हुने कराँते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नमोबुद्ध नगरपालिकाले बिदाई गरेको छ । सोतोकान कराँते–डो स्पोर्टस् एसोसिएसनको आयोजनामा डिसेम्वर २७ र २८ तारिख देहरादूनमा हुने नवौं अन्तराष्ट्रिय खुला कराँते च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडी, प्रशिक्षक र अफिसियल टोलीलाई शनिवार विदाई गरिएको हो । नेपाल सोतोकान कराँते संघको नमोबुद्ध डोजोले आयोजना गरेको कार्यक्रममा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, नेपाल सोतोकान कराँते संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठ, प्राविधिक निर्देशक, वरिष्ठ प्रशिक्षक समेत रहेका राष्ट्रिय रेफ्री धनेन्द्रकुमार श्रेष्ठ, टीम प्रशिक्षक सुरेश श्रेष्ठ, नमोबुद्ध नगरपालिकाको युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, समाजसेवी मनोज अधिकारी, हरिप्रसाद अधिकारी, हरिशचन्द्र अधिकारी, दाप्चा माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्रसिं घटाल लगायतलले उनीहरुलाई विदाई गरेका हुन् । 
प्राविधिक निर्देशक धनेन्द्रकुमार श्रेष्ठका अनुसार, नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूह (महिला) मा युजिन लामा, २५ केजी तौल समूह (महिला) मा आरुषा श्रेष्ठ, ४५ केजी तौल समूह (पुरुष) मा इलेश श्रेष्ठ र आरेस तुम्सिङ मगरका साथै ५० केजी तौल समूहमा रञ्जित थापाले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुलाई विदाई गर्दै नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले नगर, जिल्लाका साथै देशकै इज्जत राख्न सकुन् भन्दै शुभकामना दिए । २०५४ सालमा दर्ता भएको नेपाल सोतोकान कराँते संघको ३९ जिल्ला संघ र ४ सय भन्दा धेरै डोजोहरु छन् ।

