काठमाडौँ, ८ पुसः ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरुमा चित्रकला कार्यशाला एवं अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रतिष्ठानको सहकार्यमा पर्वतको भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका र फलेवास–५ ले सोमबार आयोजना गरेको ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रममा विद्यार्थीलाई कला र सीपबारे प्रशिक्षण दिइएको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकलाका विविध आयाम, क्षेत्रको चर्चा गर्दै यस क्षेत्रको उत्थान, प्रवर्द्धनमा प्रतिष्ठानले काम गर्दै आएको र ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गर्दै देशका सबै ललितकलाकर्मी तथा नवपुस्तालाई समेट्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले ललितकलालाई गाउँगाउँसम्म पु¥याउन संस्कृति र कला पर्यटनको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको उजागरका लागि यस किसिमको प्रतियोगिताले थप ऊर्जा थप्ने बताउँदै प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रम गर्न पाउँदा खुसी लागेको धारणा राख्नुभयो ।
मच्छिन्द्र शाक्य र शर्मिला खनाल प्रशिक्षक रहनुभएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधिका कँडेल, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णप्रसाद आचार्य तथा नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकलगायतको सहभागिता रहेको थियो । सो अवसरमा स्थानीय कलाकारको सहभागितामा कला कार्यशाला तथा डिजिटल कला प्रदर्शनीसमेत गरिएको थियो ।
