खोटाङ — आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले प्रत्यक्षतर्फ गुणराज राजभण्डारीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य राजनीतिक दलहरूले आफ्ना उम्मेदवार सार्वजनिक गरेका छैनन्।
सिफारिस भएका राजभण्डारी कुशल चलचित्र निर्माता तथा समाजसेवीका रूपमा परिचित छन्। उनले आगो–२, वीरयोद्धा, माया यो कस्तो माया लगायतका थुप्रै चर्चित नेपाली चलचित्रहरू निर्माण गरिसकेका छन्। वि.सं. २०५१ सालदेखि विद्यार्थी संगठनमा जिल्ला सदस्य हुँदै राजनीतिमा सक्रिय रहेका गुणराज राजभण्डारी वि.सं. २०८० सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा संगठनका केन्द्रीय उपाध्यक्ष भइसकेका छन्। हाल उनी राप्रपा युवा विभागका केन्द्रीय उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। उनी आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिने तयारीमा रहेका छन्।
एक जुझारु, कर्मठशील तथा युवा नेताका रूपमा चिनिएका राजभण्डारीले सबै वर्ग र समुदायको सेवा गर्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका छन्। साथै, आगामी दिनमा पनि आफ्नो सक्रियता र सेवामार्फत जनहितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
