कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको निर्णयअनुसार आगामी ११ जनवरी २०२६ मा आयोजना हुने शाखाको आठौँ अधिवेशनलाई नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले औपचारिक रूपमा स्वीकृति प्रदान गरेको छ। सो अधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी केन्द्रीय समितिले दिएको छ।
दक्षिण कोरिया शाखाले यसअघि नै आठौँ अधिवेशन जनवरी ११ मा आयोजना गर्ने निर्णय गर्दै सो अधिवेशनलाई मर्यादित, व्यवस्थित र विधानसम्मत रूपमा सम्पन्न गर्नका लागि केन्द्रीय समितिसँग आवश्यक निर्देशन, समन्वय, सहजीकरण तथा केन्द्रीय प्रतिनिधि पठाइदिन औपचारिक अनुरोध गरेको थियो। शाखाको उक्त अनुरोधको प्रतिउत्तरस्वरूप केन्द्रीय समितिबाट प्रमुख अतिथि तथा प्रतिनिधि तोकिएको जानकारी प्राप्त भएको हो।
केन्द्रीय समितिको निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न हुने भएपछि शाखा अधिवेशन थप गरिमामय, प्रभावकारी र संस्थागत दृष्टिले सुदृढ हुने अपेक्षा गरिएको छ। केन्द्रीय नेतृत्वको प्रत्यक्ष सहभागिताले प्रवासमा क्रियाशील नेपाली पत्रकारहरूको व्यावसायिक एकता, संस्थागत अनुशासन र लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकी अध्यक्ष निर्मला शर्माद्वारा जारी पत्रमार्फत अधिवेशनको स्वीकृति दिँदै सोहीअनुसार आवश्यक तयारी गर्न दक्षिण कोरिया शाखालाई अनुरोध गरिएको छ। शाखाले पनि केन्द्रीय समितिको निर्देशनअनुसार अधिवेशनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी तथा लोकतान्त्रिक मूल्य-मान्यताअनुरूप सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
उक्त अधिवेशनले दक्षिण कोरियामा क्रियाशील नेपाली पत्रकारहरूको संगठनात्मक मजबुती, पत्रकारिता क्षेत्रको व्यावसायिक विकास तथा महासङ्घको दीर्घकालीन लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
