राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग

राजनीति समाचार

काठमाडौँ, १३ पुसः नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।

कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले आज अध्यक्ष दाहाललाई भेटेर कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदै सो माग गरेको हो । भेटमा राष्ट्रियसभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत सहभागी हुनुहुन्थ्यो ।

यही पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्दै राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो ।

जनताका आवाज उठाउने सार्वभौम सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको हुँदा राष्ट्रियसभाको बैठक बस्न आवश्यक भएकाले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न कांग्रेसले माग गरेको थियो ।