जनसम्पर्क समिति कोरियामा आगामी सभापतिका आकांक्षी को–को ?

कोरियाअपडेट

दक्षिण कोरियाको चिसो जाडोबीच नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति कोरियाको आगामी नेतृत्व चयनको प्रतिस्पर्धा भने तातेको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन तथा महाधिवेशन कार्यतालिका अनुसार यही जनवरी ४ तारिख हुने अधिवेशनमा सभापति पदका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

अघिल्ला अधिवेशनहरूमा पनि झिनो मतान्तरले हार–जितको इतिहास रहेको जनसम्पर्क समिति कोरियामा यसपटक पनि कडा प्रतिस्पर्धाको संकेत देखिएको हो। हाल सभापति पदका लागि वर्तमान सभापति भजिन्द्र क्षेत्रीउपसभापति जितेन्द्र महता बीच मुख्य प्रतिस्पर्धा सार्वजनिक रूपमै देखिन थालेको छ।

यद्यपि, संगठनका पुराना व्यक्तित्व तथा सल्लाहकार खेमराज देवकोटाले पनि नेतृत्वका लागि भित्रभित्रै तयारी गरिरहेको स्रोतको दाबी छ। तर नयाँ दैनिकीसँगको कुराकानीमा देवकोटाले साथीहरूले अगाडि बढ्न आग्रह गरे पनि आफूले अझै अन्तिम निर्णय नगरेको बताएका छन्।

स्रोतका अनुसार जनसम्पर्क समिति भित्र हाल दुई मुख्य धार सक्रिय रहेकामा तेस्रो धार जन्मिने तयारी समेत भइरहेको छ। पछिल्लो समय

उपसभापति लक्ष्मण दाहाल को नाम पनि भित्र भित्रै चर्चामा आए पनि उनले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

हालको समीकरण अनुसार मुख्य प्रतिस्पर्धी मानिएका क्षेत्री र महताले आ–आफ्नो लबिङ तीव्र पारेका छन्। क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरूको समर्थन जोडघटाउका बीच यी दुई बाहेक अर्को उम्मेदवार मैदानमा आएमा नतिजा फरक पर्न सक्ने कतिपय प्रतिनिधिहरूको आँकलन छ।

यद्यपि, सभापति क्षेत्री पक्षले भने आफूहरू ठूलो मतान्तरले विजयी हुने दाबी गर्दै तेस्रो उम्मेदवारको चर्चा केवल हल्ला मात्र भएको बताएको छ। उता महता पक्षले पनि आफूहरू अत्यन्त बलियो अवस्थामा रहेको दाबी गर्दै चुनावी तयारी तीव्र पारेको जनाएको छ।

अब सबैको ध्यान जनवरी ४ मा हुने अधिवेशनतर्फ केन्द्रित भएको छ, जहाँ जनसम्पर्क समिति कोरियाको आगामी नेतृत्वको टुंगो लाग्नेछ।

( साभारः नया दैनिकी)