दक्षिण कोरियामा नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति कोरिया को आगामी नेतृत्व चयनका लागि प्रतिस्पर्धा थप तीव्र बनेको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन तथा महाधिवेशन कार्यतालिका अनुसार यही जनवरी ४ तारिख हुने अधिवेशनमा सभापति पदका लागि नयाँ उम्मेदवारको प्रवेशसँगै चुनावी माहोल थप तातिएको हो।
यसैक्रममा सह–महामन्त्री विकास मल्ल ले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मल्लले कर्णाली क्षेत्रको प्रतिनिधित्व गर्दै आफू सभापति पदको उम्मेदवार बन्न लागेको स्पष्ट पारेका हुन्। उनको उम्मेदवारी घोषणासँगै जनसम्पर्क समिति कोरियाको सभापति पदमा आकांक्षीहरूको संख्या हालसम्म चार जना पुगेको छ।
यसअघि नै वर्तमान सभापति भजिन्द्र क्षेत्री र उपसभापति जितेन्द्र महता बीच मुख्य प्रतिस्पर्धा सार्वजनिक रूपमा देखिँदै आएको छ। यस्तै, संगठनका पुराना व्यक्तित्व तथा सल्लाहकार खेमराज देवकोटा ले पनि नेतृत्वका लागि भित्रभित्रै तयारी गरिरहेको स्रोतको दाबी छ। यद्यपि, देवकोटाले नयाँ दैनिकीसँगको कुराकानीमा साथीहरूले अगाडि बढ्न आग्रह गरे पनि आफूले अझै अन्तिम निर्णय नगरेको बताएका छन्।
स्रोतका अनुसार जनसम्पर्क समिति भित्र हाल दुई मुख्य धार सक्रिय रहेकामा तेस्रो धार जन्मिने सम्भावना समेत बढ्दै गएको छ। यसअघि उपसभापति भइसकेका लक्ष्मण दाहालको नाम पनि चर्चामा आए तापनि उनले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
विकास मल्लको उम्मेदवारीसँगै कर्णाली क्षेत्रबाट नेतृत्वमा प्रतिनिधित्व हुनुपर्ने आवाज पनि सशक्त बन्दै गएको छ। मल्ल निकट स्रोतका अनुसार उनले संगठनलाई समावेशी, सन्तुलित र संस्थागत रूपमा अघि बढाउने एजेन्डा अघि सार्ने तयारी गरेका छन्।
हालको राजनीतिक समीकरणअनुसार वर्तमान सभापति क्षेत्री र उपसभापति महताले आ–आफ्नो लबिङ तीव्र बनाएका छन्। क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरूको समर्थन जोडघटाउ तीव्र भइरहेका बेला यी दुई बाहेक अन्य उम्मेदवार मैदानमा आएमा चुनावी नतिजा फरक पर्न सक्ने कतिपय प्रतिनिधिहरूको आँकलन छ।
यद्यपि, सभापति क्षेत्री पक्षले भने आफूहरू ठूलो मतान्तरले विजयी हुने दाबी गर्दै तेस्रो वा चौथो उम्मेदवारको चर्चा केवल हल्ला मात्र भएको जनाएको छ। उता महता पक्षले पनि आफूहरू बलियो अवस्थामा रहेको दाबी गर्दै अन्तिम नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेको छ।
अब सबैको ध्यान जनवरी ४ मा हुने अधिवेशनतर्फ केन्द्रित भएको छ। अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच लबिङ, प्रतिनिधि भेटघाट तथा आन्तरिक समीकरण झनै तीव्र हुने देखिएको छ।
(साभारः नया दैनिकी)
