अघौँअर्चलेमा मनाइयो पौड्यालको १४२औँ जन्मजयन्ती

समाचार साहित्य

लेखनाथ (कास्की), १५ पुसः कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्ती आज उहाँकै जन्मस्थल कास्कीको अघौँअर्चलेमा मनाइएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्याल जन्मजयन्ती मूल समारोह समिति, लेखनाथ साहित्य प्रतिष्ठानलगायत संस्थाको संयुुक्त आयोजनामा आज जन्मजयन्ती मनाइएको हो ।

त्यस अवसरमा आयोजि कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नेपालमा मात्र नभइ अन्तरराष्ट्रियस्तरमा समेत प्रसिद्ध कवि शिरोमणि पौड्यालको जन्मस्थललाई ‘साहित्यिक भिलेज’को रूपमा विकास गरिने बताउनुभयो ।

दुई वर्षअघि अघौँअर्चलेमा उहाँको पूर्ण कदको सालिक निर्माण गरिएको र अब जग्गा प्राप्तिपछि ‘साहित्यिक भिलेज’ का रूपमा विकास गर्न महानगरले बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“देशैभरिका साहित्यकार तथा कविहरूले आवासीय रूपमा यही बसेर कविता रचना गर्न सकून भनेर नै अर्चलेलाई साहित्यिक भिलेज बनाउने लक्ष्य छ । जग्गा प्राप्त भएपछि बाँकी काम अगाडि बढाउँछौँ”, महानगर प्रमुख आर्चाले भन्नुभयो ।

गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिमा अत्यन्तै धनी भएकाले यहाँ नै आदिकवि भानुभक्त आचार्य, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरेजस्ता कविहरू जन्मेको उहाँको भनाइ थियो ।

नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका उहाँलाई विसं २००८ असार २९ गते तत्कालीन राजा त्रिभुवनले कवि शिरोमणिको पदवी र मासिक रु २००० आजीवन भत्ताको व्यवस्था गर्नुभएको थियो । उहाँ विसं २०१४ मा स्थापित नेपाल एकेडेमीमा प्राज्ञका रूपमा नियुक्त हुनुभएको थियो । विसं २०१९ मा उहाँको नाम र चित्रअङ्कित १५ पैसाको हुलाक टिकटसमेत प्रकाशित गरिएको थियो ।

लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालका अनुसार कवि शिरोमणि पौड्यालले १५ वर्षकै उमेरदेखि कविता लेख्न थाल्नुभएको थियो । विसं १९६१/६२ मा ‘कविता कल्पद्रुम’ भित्रका शृङ्गार पच्चीसी र मानषाकर्षिणीबाट उहाँको कविता लेखन आरम्भ भएको मानिन्छ । साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई ०२६ सालमा मरणोपरान्त त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो ।

विसं १९४१ पुस १५ मा कास्कीको अर्घौँअर्चलेमा पण्डित दुर्गादत्त पौड्याल र माता वसुन्धरादेवीको कोखबाट जन्मिनुभएका पौड्यालको विसं २०२२ फागुन ७ गते शिवरात्रिका दिन निधन भएको थियो ।

उहाँको जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमकाबीच लेखनाथ साहित्य पुरस्कारबाट साहित्यकार घनश्याम कँडेल, कसन्तादेवी साहित्य पुरस्कारबाट गङ्गा कर्माचार्य, लेखनाथ सांस्कृतिक पुरस्कारबाट साहित्यकार नवराज अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तैगरी लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार कविराज खनाल र स्मीता अधिकारीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा कवि तथा साहित्यकारहरूले आफ्ना कविता वाचन गर्नुका साथै कवि शिरोमणि पौड्यालको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले धन्यवादज्ञापन गर्नुभएको थियो ।