दमौली (तनहुँ), १५ पुस: तनहुँको पर्यटकीय नगरी बन्दीपुर आज चुड्काले गुञ्जियो । बन्दीपुर भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा आज एकैपटक एक हजार जनाले चुड्का नाचेका छन् ।
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न र सांस्कृतिक इतिहास कायम गर्न बृहत चुड्का नाच गरिएको कार्यक्रम संयोजक हरिसिंह गुरुङले जानकारी दिनुभयो । मौलिक जातीय र वेषभूषामा सजिएर एउटै मञ्चबाट यति धेरै सङ्ख्यामा चुड्का नाचेको यो पहिलो भएको उहाँको दाबी छ ।
त्यसक्रममा गुरुङ, मगर, कुमाल, दरै, ब्राम्हण, क्षेत्री, नेवारलगायतका समुदायले मौलिक पहिरनमा सजिएर चुड्का नाच प्रस्तुत गरेका थिए । उहाँले भन्नुभयो, “तनहुँ कला र संस्कृतिमा धनी छ । एकैपटक एक हजार जनाले नाचेको यस कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्र्धनमा ठूलो सहयोग पुगेको छ ।”
बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन चुड्का नचाइएको यहाँ दोस्रो दिन पुस १६ गते बन्दीपुर भ्रमण वर्ष समापन गरिँदैछ ।
बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गाको काम गरेको बताउनुभयो । सन् २०२५ मा विविध कार्यक्रम सञ्चालन गरिएको बताउँदै उहाँले अब सन् २०२६ का लागि विशेष कार्यक्रमको घोषणा तयारी गरिएको उल्लेख गर्नुभयो ।
पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव हुँदैछ । सडक खाना महोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बन्दीपुरमा पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीसमेत उत्साहित छन् । पर्यटन व्यवसायी किसान प्रधानले यतिबेला बन्दीपुरमा पर्यटकको उल्लेख्य चाप रहेको बताउनुभयो ।
बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकता दिइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ । बन्दीपुरमा रहेको सिद्धगुफाको प्रचारप्रसार तथा मिनी ग्रेटवाल, मुकुन्देश्वरी पदमार्गलाई सम्पन्न गराउनेतर्फ गाउँपालिका अगाडि बढेको थापाले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ निर्माणाधीन रहेका पूर्वाधारलाई सम्पन्न गराउनेतर्फ अगाडी बढेका छौँ । यसले बन्दीपुर घुम्न आउनेलाई थप आकर्षित गर्नेछ ।”
खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।
