एनसीबीको वार्षिक साधारण सभा (AGM) २०२५ दक्षिण कोरियाको बुसानमा सम्पन्न

कोरियाअपडेट

भावना कार्की

सौल/ दक्षिण कोरिया

दक्षिण कोरियाको बुसानमा क्रियाशील नेपाली समुदायको सबैभन्दा ठूलो र एकमात्र संस्था नेपलिज कम्युनिटी इन बुसान (NCB) ले आफ्नो वार्षिक साधारण सभा (AGM) २०२५ डोङ इउई विश्वविद्यालयमा भव्य रूपमा सम्पन्न गरेको छ। यो कार्यक्रम एनसीबीको इतिहासमै पहिलो पटक आयोजित वार्षिक साधारण सभा भएकोले ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

कार्यक्रमले वर्षभरिका गतिविधिको समीक्षा गर्नुका साथै आगामी दिनमा नेपाली समुदायबीच एकता, सहकार्य र सहयोगलाई अझ सुदृढ बनाउने लक्ष्य प्रस्तुत गर्‍यो।

एनसीबीका अध्यक्ष श्री अशोक आचार्य ले सभालाई सम्बोधन गर्दै एजीएमलाई “गत वर्षको समीक्षा मात्र नभई एनसीबीका लागि नयाँ अध्यायको सुरुवात” भएको उल्लेख गर्नुभयो। उहाँले बुसानमा रहेका नेपालीहरूको हितका लागि संस्था अझ सशक्त र प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी उपाध्यक्ष श्री दिनेश थापा ले आगामी वर्षका योजनाबारे जानकारी दिँदै बुसानमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई सहयोग गर्ने, आपसी एकता बढाउने र समुदायलाई व्यवहारिक सहयोगमार्फत जोड्ने एनसीबीको लक्ष्यलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा ४० भन्दा बढी नयाँ एसोसिएट सदस्यहरूको नियुक्ति गरिएको थियो, जसले एनसीबीको सञ्जाल विस्तार र समुदायको बढ्दो सहभागिता झल्काएको छ। यो पहल नव नियुक्त एसोसिएट कमिटीका अध्यक्ष श्री दीपेश सुरजे शाही को नेतृत्वमा सम्पन्न भएको हो।

एजीएममा १५ जना कार्यसमिति सदस्य र ३० जना एसोसिएट सदस्यहरूको उपस्थितिले नेपाली समुदायको बलियो प्रतिनिधित्व र एकताको स्पष्ट सन्देश दिएको थियो। साथै, डोङ इउई विश्वविद्यालयमा आयोजित यो कार्यक्रम त्यहाँ सम्पन्न भएको पहिलो नेपाली समुदायको भव्य कार्यक्रम समेत बनेको छ।

अन्त्यमा, एनसीबीले कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्य तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमा पनि प्रभावकारी र अर्थपूर्ण सामुदायिक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।