उपनिर्वाचनका लागि आयोगले उम्मेदवार खर्च तोक्यो

आर्थिक मुख्य समाचार राजनीति

काठमाडौं, १८ कात्तिक । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिदिएको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले भने १५ लाख रुपैयाँ खर्च गर्न पाउँछन्।

मंसिर १४ गते प्रतिनिधिसभाको कास्की २, प्रदेशसभाको बागलुङ, दाङ र भक्तपुरमा एक/एक क्षेत्र निर्वाचन हुँदैछ। उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार खर्च गर्न पाउँछन्। उपमहानगरको वडाध्यक्षले २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार र वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउने आयोगले जनाएको छ।

उपनिर्वाचनका लागि कात्तिक २१ गते दलहरूले उम्मेदवार मनोनयन गरिसक्नुपर्छ। उपनिर्वाचन गराउनका लागि अर्थ मन्त्रालयले आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो। आयोगले उपनिर्वाचन हुने चार जिल्लामा मुख्य निर्वाचन अधिकृत कार्यालय खुलिसकेको छ। स्थानीय तहमा मात्रै उपनिर्वाचन हुने ३३ जिल्लामा बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोल्ने आयोगको तयारी छ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि चार लाख ५४ हजार ११४ मतदाता छन् भने २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र छ।