दिप खड्का
टोकियो / जापान ।
नेपाल पत्रकार महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार शान्त पहरीलाई गुरुङ समाज जापानद्वारा आयोजित तमु ल्होसार कार्यक्रमका अवसरमा सम्मान गरिएको छ।
पत्रकारिता मार्फत प्रवासी नेपाली समुदायको हक–हित, आवाज र गतिविधिलाई निरन्तर उजागर गर्दै आएको योगदानको कदरस्वरूप पहरीलाई उक्त सम्मान प्रदान गरिएको हो। गुरुङ समुदायको मौलिक पर्व तमु ल्होसारको अवसरमा आयोजित विशेष कार्यक्रममा गुरुङ समाज जापानले प्रवासमा नेपाली समुदायलाई जोड्न र सूचनाको सेतुका रूपमा पत्रकारिताले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको जनाएको छ।
सम्मान ग्रहण गर्दै शान्त पहरीले यो सम्मान आफू मात्रको नभई प्रवासमा क्रियाशील सम्पूर्ण नेपाली पत्रकारहरूको साझा सम्मान भएको प्रतिक्रिया दिएका छन्। उनले आगामी दिनमा पनि प्रवासी नेपाली समुदायका मुद्दा, संस्कृति र पहिचानको संरक्षणका लागि पत्रकारितामार्फत योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जापानस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। तमु ल्होसार कार्यक्रम सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भएको थियो।

