कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक : सबै पदाधिकारी र सदस्यको पदावधि जेठसम्म थप

मुख्य समाचार

काठमाडौँ, १८ पुसः नेपाली कांग्रेसले विशेष परिस्थिति भन्दै विधान, २०१७ (संशोधनसहित)को धारा ४३ बमोजिम पार्टीको सबै तह र निकायका पदाधिकारी तथा सदस्यको पदावधि २०८३ साल जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल गत मङ्सिरमा समाप्त हुन लागेपछि यसअघि मङ्सिर १५ गते दुई महिनाका लागि थप गरिएको थियो । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्ष समयावधि थप गर्न सकिने प्रावधान छ ।

बैठकमा कावा सभापति खड्काले प्रस्तुत गर्नुभएका विभिन्न प्रस्ताव उपर छलफल गरी विभिन्न निर्णय गरिएको छ । बैठकले निर्वाचनको कारणले देखाउँदै १५औँ महाधिवेशन २०८३ साल वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने गरी तालिका संशोधन गरेको बैठकका निर्णय सार्वजनिक गर्न मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी चैत २१ गते, गाउँ÷नगरपालिका अधिवेशन चैत्र २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत्र २८ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा) विसं २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा वैशाख ५ गते, प्रदेश अधिवेशन वैशाख १० देखि १२ गते गर्ने निर्णय गरिएको छ ।

गत मङ्सिर १५ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाविधेशन यही पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । कार्यसम्पादन समितिको आजको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण र नविकरणसम्बन्धी कार्य सम्पन्न नभएको र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपर्ने कारण देखाउँदै महाधिवेशनको तालिका संशोधन गरेको हो ।

विधानतः पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने माग

उक्त निर्णयप्रति महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत पाँच नेताले असहमति जनाउनुभएको छ । उहाँहरुले गत असोज २९ गते केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनको प्रस्तावअनुसार विधानअनुसार यही पुस मसान्तभित्र १५औँ महाधिवेशन गर्नुपर्ने माग गर्नुभएको थियो ।

यद्यपी बैठकले गत मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका निर्णय गरी विधानबमोजिम महाधिवेशनको प्रकृया अघि बढी सकेको सन्दर्भमा विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भएको ठहर गरेको छ ।

यसैगरी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन तत्काल नहुनुको अर्थ विशेष महाधिवेशनको ढोका खुलेको उल्लेख गर्दै अब सबै एक भएर विशेष महाधिवेशनमा प्रवेश गर्नुपर्ने बतानुभएको छ । उहाँले बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज र भोलिभित्रैमा सभापति शेरबहादुुर देउवासँग सल्लाह गरेर विशेष महाधिवेशनबारे टुङ्गोमा पुग्नुपर्ने विषयमा आफूले कुरा राखेको जानकारी दिनुभयोे ।

महामन्त्री शर्माले सहमतिपुर्वक विशेष महाधिवेशन बोलाउने वा असहमतिबीच महामन्त्रीले आह्वान गर्नुपर्ने विकल्पका सुझाव दिनुभएको थियो । बिधानको १७ (२) बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई सम्बोधन कसरी गर्ने मुख्य प्रश्न भएको बताउँदै उहाँले नियमित महाधिवेशन भएको भए त्यसले विशेषको मागलाई सम्बोधन गर्न सक्थ्यो भन्नुभयो ।

उहाँले यही पुस मसान्तमा विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई अनादर गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । महामन्त्री शर्माले आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा जाने निर्णय पार्टीबाट सर्वसम्मतिले भएको तर पार्टीका संसद्लाई पुनःस्थापनामा हस्ताक्षर गर्न कसले निर्देशन दिएको भनी प्रश्न गर्नुभएको छ ।

साथै उहाँले आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णयका विरुद्ध नेकपा (एमाले)सँग गठबन्धन गर्ने ‘भुमिगत तयारी’को गर्दैछ भनी प्रश्न गर्दै त्यसबारेमा असहमति जनाउनुभयो । पार्टी फुट्ने हल्लाबारेमा महामन्त्री शर्माले आफूले सिङ्गो कांग्रेसको नेतृत्व गर्न चाहेको र कांग्रेस छोडेर जालान् या फुटाउलान् भन्ने कसैले सोच्न पनि नहुने बताउनुभयो ।
–––