काठमाडौँ, २१ पुसः पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्ष श्रीधर सापकोटाले पदबहाली गर्नुभएको छ ।
नेपाल सरकारको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त सापकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार कोषको कोषाध्यक्ष पदमा चार वर्षका लागि नियुक्त हुनुभएको थियो ।
नियुक्त भएपछि आज कोषको कार्यालय देवपतन, वनकालीमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले सत्य, निष्ठा, इमान्दारिता र नैतिकताका आधारमा काम गर्ने बताउनुभयो ।
कोषाध्यक्ष सापकोटाले पशुपति क्षेत्रलाई विश्वभरका सनातन धर्मावलम्बीको धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सबैले एकाकार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक क्षेत्रमा काम गरेर धेरै धन कमाउन इच्छा नराख्न आह्वान गर्दै उहाँले पैसा कमाउन चाहनेले व्यापार, व्यवसाय गर्नुपर्ने बताउनुभयो ।
निजामती सेवाको उच्च तहमा काम गर्ने क्रममा उहाँले करिब आठ वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत, महाशाखा प्रमुख र सचिव भएर पनि काम गर्नुभएको थियो । उहाँले रक्षा मन्त्रालयलगायतको सचिव भएर काम गरिसक्नुभएको छ ।
यसैगरी कोषाध्यक्ष सापकोटाले गुरु नानक मठ देवस्थल संरक्षण समिति, बालाजुलगायत आध्यात्मिक संस्थामा पनि काम गर्नुभएको छ ।

