सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : अध्यक्ष ओली

मुख्य समाचार राजनीति

काठमाडौँ, २३ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचनका लागि सरकारले अनुकूल वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता सुदृढ हुन नदिनका लागि शान्ति खलबलाउने प्रयास पटकपटक दोहोरिएको तर्क गर्नुभयो । “मुलुक अशान्त भएपछि त्यसलाई बहाना बनाएर देशलाई कमजोर बनाउने शक्ति र तत्त्व बढी क्रियाशील हुन्छन्”, उहाँले भन्नुभयो, “त्यसकारण शान्ति सुव्यवस्था कायम गर्न हामीले सदैव ध्यान दिनुपर्दछ ।”

उहाँले एमाले देश, सुशासनप्रति जिम्मेवार भएकाले नेता तथा कार्यकर्ता एमालेप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले देश र जनताप्रति आफ्नो इमान सधैँ कायम नै रहने उल्लेख गर्नुभयो ।

सङ्गठनका अध्यक्ष विनोद पाण्डेले हरेक नेपालीले सिपाहीका रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले निर्धारित समयमा प्रतिनिधि सभाको निर्वाचन गराउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भूपु सैनिक र प्रहरीलाई उत्पादनमूलक काममा सरकारले खटाउनुपर्ने बताउनुभयो ।