पाँच दिनमा सुन तोलामै एक हजार सस्तियो

आर्थिक राजनीति

काठमाडौँ। गत शुक्रबारदेखि सुनको मूल्य लगातार घट्दो क्रममा छ। शुक्रबार यता मात्रै सुनको भाउ प्रति तोला एक हजार रुपैयाँले घटिसकेको छ।

बुधवार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले घट्यो। बुधबार प्रति तोला सुनको मूल्य ७० हजार दुई सय रुपैयाँमा ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

मंगलबार प्रतितोला सुनको मूल्य ७० हजार आठ सय रुपैयाँ कायम गरिएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण स्थानीय बजारमा पनि सुनको मूल्य क्रमिक रुपले घटेको महासङ्घले जनाएको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ८७ डलर रहेको छ। मङ्गलबार प्रति औंस सुनको मूल्य १५ सय आठ डलर रहेको थियो।

सुनसँगै चाँदीको मूल्य समेत घटेको छ। बुधवार प्रति तोला चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। बुधबारकोलागि प्रतितोला चाँदीको मूल्य आठ सय ४५ रुपैयाँ तय भएको छ। मङ्गलबार चाँदी तोलाको आठ सय ६० रुपैयाँ रहेको थियो।