विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा पत्रकारहरूको जोड

राजनीति

काठमाडौँ, २६ पुसः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूले भोलिदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशनले पार्टीभत्र एकताको सन्देश दिनुपर्ने बताएका छन् ।

विशेष महाधिवेशन पक्षधरद्वारा पुस २७ र २८ गते हुन लागेको विशेष महाधिवेशन मिडिया सेन्टरले आज यहाँ आयोजना गरेको परामर्श कार्यक्रममा पत्रकारहरूले विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्ने बताएका हुन् ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले विशेष महाधिवेशनले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले नेपाली कांग्रेसमा राष्ट्रियता परिपक्व नीति अपनाएको भन्दै सही नीतिलाई नेतृत्व गर्न सही नेता आउनुपर्ने बताउनुभयो ।

प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले कांग्रेसको विधान धारा १७ (२) ले राजनीतिक संस्कारलाई बोकेको भन्दै यसलाई सहज रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो ।

प्रेस युनियनका सल्लाहकार तेजप्रसाद पण्डित, अनिता बिन्दू र दामोदरप्रसाद दवाडीले विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने भाष्य स्थापित पार्न खोजेका भन्दै यस प्रयत्नलाई निस्तेज पार्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

युनियनका उपाध्यक्ष जीवन भण्डारीले सुझावका लागि कार्यक्रमको आयोजना गरिएको र सोहीअनुसार विशेष महाधिवेशनको मिडिया सेन्टरमार्फत सत्यतथ्य समाचार उपलब्ध गराइने बताउनुभयो ।