कांग्रेस विशेष महाधिवेशन: महामन्त्री विश्वप्रकाश शर्माद्वारा १८ बुँदे आत्मालोचना सहित बन्दसत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत

मुख्य समाचार राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेको कामको सम्बन्धमा १८ बुँदे आत्मालोचना गरेका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै शर्माले यस्तो आत्मालोचना गरेका हुन् ।

यस्ता छन् आत्मालोचना र संकल्प

१. चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने, डेढ दशकयता हामीले निरन्तर यो अभ्यास गर्दै आयौँ । यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो, नेतृत्वलाई अलोकप्रिय बनायो, अर्कातर्फ सार्थक परिणाम पनि दिन सकेन ।

संकल्पः विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ– नेपाली काँग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । दुई पटक मात्रै प्रधानमन्त्रीको यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली काँग्रेसले अग्रसरता लिनेछ ।

२. बितेका तीन दशकमा सरकार पटक–पटक अस्थिर हुँदा हामीले नीतिगत स्थिरताका लागि सार्थक पहल र सुनिश्चितता गर्न नसक्नु हाम्रो सामान्य गल्ती थिएन । जलविद्युत् होस् या कृषि, भौतिक विकास होस् या निजी क्षेत्रलाई गर्ने व्यवहार, जब–जब सरकार बदलियो त्यसले सबै क्षेत्रलाई असर गर्‍यो ।

संकल्पः विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन संकल्प गर्दछ– देशलाई नीतिगत सुनिश्चितताका साथ अग्रगतिमा लैजान पहल र नेतृत्व गर्नेछौँ ।

३. चुनावी गठबन्धन नेपाली राजनीतिमा मतदाताको स्वतन्त्र विवेक एवं पार्टी सदस्यको सम्मानलाई असर पुर्‍याएको एक अध्याय थियो । यही आत्मसमीक्षासहित गोदावरीमा सम्पन्न पछिल्लो महासमिति बैठकले आगामी चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।

संकल्पः विगतको गल्ती सच्याउँदै महासमितिको त्यो निर्णय स्मरण गर्दै यो विशेष महाधिवेशन आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गर्दछ ।

४. राष्ट्रको बजेट निर्माण गर्दा कतिपय प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट खन्याइने र कतिपय क्षेत्रमा भने सांसदको प्रभाव नपुग्दा तुलनात्मक रूपमा न्यून बजेट परेको गुनासो संसद्मा पटक–पटक सुनिएका छन् । नागरिकमा निरन्तर असन्तोष जन्माउने यो प्रवृत्ति देशको ढुकुटीप्रतिको खेलबाड पनि हो ।

संकल्पः यो विशेष महाधिवेशन यस्तो प्रवृत्ति सम्पूर्ण नियन्त्रण गर्ने संकल्प गर्दै समन्यायिक विकासको अवधारणा मर्यादित ढङ्गले अवलम्बन गर्ने निर्णय गर्दछ ।

५. बितेका केही दशकमा विकासका कतिपय परियोजना लहडका भरमा अघि बढाइएको देखिन्छ । प्राविधिक रूपमा सम्भाव्य छ भनेर हेरिरहँदा आर्थिक रूपमा टिकाउ छ कि छैन भनेर गम्भीर परीक्षण नगरिँदा देश ऋणको पासोमा पर्ने खतरा रहन्छ ।

संकल्पः विगतका यस्ता गम्भीर गल्ती केलाउँदै लहडका परियोजना नबढाउने, कुनै पनि महत्त्वपूर्ण प्रस्तावलाई विज्ञ दृष्टिको संलग्नताबाट भायबल रहे–नरहेको परीक्षण र आवश्यकता पर्दा संसदीय छलफलबाट मात्रै अघि बढाउने निर्णय यो विशेष महाधिवेशन गर्दछ ।

६. पुँजीगत बजेट खर्चको क्षमता सबल ढङ्गले बढ्न नसकेको अवस्थालाई सन्तोषजनक सुधार गर्न नसक्नु हाम्रो शासकीय गल्ती प्रमाणित भएको छ ।

संकल्पः भौतिक पूर्वाधार निर्माण कार्य तीन सिफ्टमा गर्न आवश्यक कानुनी एवं व्यवहारिक बन्दोबस्त मिलाउन पहल गर्ने, असारे विकास रोक्ने र विकासका कार्यमा तीन तहका सरकारबीच काम बाँडफाँडको सन्तुलन मिलाउने संकल्प र प्रतिबद्धता यो विशेष महाधिवेशन गर्दछ ।

७. गैरआवासीय नेपाली नागरिकले देशको विकासमा योगदान गर्न अपेक्षा गरेको नागरिकता, मतदानको अधिकार र लगानी सहजीकरणको विषयलाई उपयुक्त सम्बोधन गर्न विगतमा कमजोरी, गल्ती र ढिलाइ भएको छ ।

संकल्पः यो आत्मसात् गर्दै संविधानको भावना र सम्मानित सर्वोच्च अदालतको आदेशबमोजिमको बन्दोबस्त मिलाउन सहजीकरण, दबाब र नेतृत्वको भूमिका निभाउने संकल्प यो विशेष महाधिवेशन गर्दछ ।

८. बुढीगण्डकी परियोजना निर्माणका लागि रेडी टु टेक अफ स्थितिमा छ । फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने, १२०० मेगावाटको विद्युत् उत्पादन हुने, नेप्लिज फल्स निर्माण गरेर पर्यटनलाई बल पुग्ने, बगेको पानी चितवनमा संकलन गरेर मधेसको पिउने पानी, सिँचाइ र सुख्खा समस्या हल हुने यस्तो परियोजना निर्माण सुरु गरेर नागरिकमा आशा जगाउन ढिलाइ गर्नु हाम्रो गल्ती थियो । सुशासनको अभाव र हाम्रो शासकीय कमजोरीले यसको लगानी सुनिश्चितता हुन नसकेको निर्विवाद छ ।

संकल्पः विशेष महाधिवेशन सरकार, डायस्पोरामा रहेका गैरआवासीय नेपाली अनि निजी क्षेत्र (GDPP model) गाँसेर यो परियोजनामा अघि बढाउन आगामी सरकार र संसद्लाई अपील गर्दछ ।

९. विभिन्न राजनीतिक नियुक्ति गरिँदा विषयगत योग्यता मापनमा चुक्ने अनि व्यक्तिको नैतिक पृष्ठभूमि परीक्षणमा सतर्कता नराख्ने कार्य विगतमा पटक–पटक भएको छ । त्यसले संस्थाको गरिमा र डेलिभरी क्षमता दुवैमा आघात पुर्‍याएको छ ।

संकल्पः इमानदारी, नैतिकता र चरित्रको मापन गर्ने Integrity Vetting System अनुरूप ट्र्याक रेकर्ड हेरेर मात्रै चयन गर्ने पद्धति बसाउने निर्णय यो विशेष महाधिवेशन गर्दछ ।

१०. विश्वविद्यालयको उपकुलपति, रेक्टर या रजिस्ट्रार जस्तो जिम्मेवार नेतृत्वको चयन राजनीतिक भागबन्डाका आधारमा गरिए । संवैधानिक नियुक्तिमा समेत भागबन्डाको दुःखद खबर देशले सुन्नुपर्‍यो । देशको प्रतिनिधित्व गरेर राजदूतको जिम्मेवारी सम्हाल्न कूटनीतिक ज्ञान र समन्वय दक्षता भएका सुयोग्य व्यक्तित्व कयौँ हुँदाहुँदै भागबन्डाको प्रवृत्ति यसमा पनि प्रवेश भयो । यो सर्वथा गल्ती थियो ।

संकल्पः विगतका यस्ता गम्भीर गल्ती सच्याउँदै विशिष्ट नेतृत्व चयनमा बिशिस्ट योग्यता मापन गर्ने मर्यादित मापदण्डको विकास हामी गर्नेछ ।

११. शिक्षा विधेयक ल्याउन ढिलाइ गरिएको गल्तीले समग्रमा शैक्षिक क्षेत्रमा मनोवैज्ञानिक असर र व्यवहारिक चुनौती बढेको छ । विधेयक माग गरेर आन्दोलन गर्नुपर्ने अवस्था आउनु हामी सबैको गल्ती थियो ।

संकल्पः आगामी संसद्को पहिलो सेसनबाट नै शिक्षा विधेयकलाई शिक्षक महासङ्घ र अन्य सरोकारवालाहरूसँगको सम्झौताको जगमा पारित गर्ने गरी पहल गर्ने निर्णय यो विशेष महाधिवेशन गर्दछ ।

१२. शैक्षिक स्थलमा बाहुबल प्रयोगको गलत प्रवृत्ति बितेको दशकमा बढेर गएको छ । बी.पी. कोइराला भन्नुहुन्थ्यो— शैक्षिक स्थल बाहुबल प्रयोग गर्ने थलो होइन । यो मान्यता बलियो रूपमा स्थापित गर्न सकिएको छैन । कतिपय शैक्षिक संस्थानहरूमा बेलाबखत बाहुबली प्रवृत्ति प्रकट भएको छ ।

संकल्पः यो विसङ्गति कडाइका साथ सच्याउन सबैलाई अपील गर्दै पार्टी निकटका कुनै पनि विद्यार्थीले कहीँ पनि त्यस्तो दुव्र्यवहार वा अराजक गतिविधि गरे तत्कालै सदस्यताबाट मुक्त हुने प्रक्रिया तय गर्ने उद्घोष विशेष महाधिवेशन गर्दछ ।

१३. राजनीतिमा स्वच्छ ट्र्याक रेकर्ड रहेका व्यक्तिहरूलाई प्रोत्साहित र प्रबल बनाउँदा त्यसले समग्र राजनीतिको छविलाई बल पुर्‍याउने हुन्छ । तर सामाजिक विसङ्गतिमा सरिक रहेकाले पनि राजनीतिका विभिन्न जिम्मेवारी सम्हालेका विवरण यदाकदा सार्वजनिक भएका छन् ।

संकल्पः काँग्रेसको कोही पनि सदस्य जातीय विभेद, घरेलु हिंसा, बालश्रम लगायतका सामाजिक विसङ्गतिमा संलग्न प्रमाणित हुनासाथ निजको पार्टी सदस्यता नरहने प्रावधान कडाइका साथ कार्यान्वयन गर्ने निर्णय विशेष महाधिवेशन गर्दछ ।

१४. नागरिक पङ्क्तिमा सदैव रहिआएको एक असन्तुष्टि छ— सरकारी प्रशासनका कतिपय कार्यालयमा सेवा लिन जाँदा जहिल्यै पनि यो वा त्यो झन्झट ब्यहोर्नुपर्ने हुन्छ । त्यस्तो झन्झट ब्यहोर्नुपर्दा सेवाग्राहीले निरन्तर दल वा सरकारसँग असन्तुष्टि राख्दै आएका छन् । त्यसलाई अविलम्ब समाधान गर्न गम्भीर पहल हामीबाट हुन सकेन । यो हाम्रो गल्ती थियो ।

संकल्पः प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न आवश्यक व्यवहारिक बन्दोबस्त मिलाउने दृष्टि र योजना तर्जुमा गरी त्यसलाई उत्प्रेरणासहित कार्यान्वयनमा लैजाने संकल्प यो विशेष महाधिवेशन गर्दछ ।

१५. श्रमिक क्षेत्रले न्यूनतम ज्याला पाउन पनि सङ्घर्ष गर्नुपर्ने स्थिति रहिआयो । अनौपचारिक क्षेत्रका श्रमिक योगदानमा आधारित सुरक्षाको दायराबाहिरै रहे । अनिश्चित श्रम र अनिश्चित जिन्दगीको तिनको यात्रा निरन्तर कष्टकर रह्यो । यस्तो स्थितिको समग्र समाधान नपहिल्याउनु हाम्रो गल्ती थियो ।

संकल्पः विशेष महाधिवेशन संकल्प गर्दछ— श्रमिक आवद्ध संस्थाहरूको साझा दृष्टि गाँस्दै नेपाल ट्रेड युनियन काँग्रेससँगको सहकार्यमा नेपाली काँग्रेसले यसको हलका लागि पहल, नेतृत्व र निरुपण गर्ने/गराउनेछ ।

१६. जनप्रतिनिधित्वमा नातावाद झल्किएको, खासगरी एकाघरका सदस्य (मुख्यतः श्रीमान्/श्रीमती) एकैपटक एउटै तहको जनप्रतिनिधि बनेको विषय नागरिक पङ्क्तिमा आलोचित र अलोकप्रिय बनेको थियो ।

संकल्पः गोदावरी महासमिति बैठकबाट पारित राजनीतिक दस्तावेजमा उल्लिखित सन्दर्भ स्मरण गर्दै यो विशेष महाधिवेशन त्यसलाई कडाइका साथ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

१७. पार्टीभित्रको आन्तरिक सुशासनमा प्रायः प्रश्न उठ्ने विषय हो— पार्टीका उम्मेदवार चयनमा रहेको परम्परागत प्रणाली । हामीले उम्मेदवार चयनका लागि लोकप्रियता, योग्यता र न्यायको मिश्रणसहितको नयाँ पद्धति विकास गर्न सकेका छैनौँ ।

संकल्पः प्राइमरी निर्वाचनमा पाइलट प्रोजेक्ट हुँदै क्रमशः अघि बढ्ने गोदावरी महासमितिबाट पारित निर्णयलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता यो विशेष महाधिवेशन गर्दछ ।

१८. पार्टीको केन्द्रदेखि वडा–टोलसम्मका पदाधिकारी वा सदस्य तथा पार्टीका तर्फबाट विभिन्न तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको कार्यशैलीले सुशासनलाई कत्तिको बढावा दिएको छ वा असर पुर्‍याएको छ भन्ने विषयको अनुगमन गर्ने पद्धति विकास नगर्नु विगतको हाम्रो गल्तीमध्ये एक थियो ।

संकल्पः सो प्रयोजनका लागि आन्तरिक सुशासन आयोग गठन गर्ने निर्णय यो विशेष महाधिवेशन गर्दछ । आयोगको कार्यविधि केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ ।