डलर बलियो बन्दा कोरियाली वोन बन्यो फेरि कमजोर

कोरियाअपडेट

कामदार दैनिक 

सौल/ दक्षिण कोरिया ।

दक्षिण कोरियाली मुद्रा वोन शुक्रबार फेरि कमजोर बनेको छ । अमेरिकी डलरको व्यापक मजबुती र जापानी येनको निरन्तर कमजोरीका कारण वोन अमेरिकी डलरको तुलनामा १,४७० को स्तरभन्दा तल झरेको हो ।

स्थानीय समयअनुसार अपराह्न ३:३० बजे वोन १ अमेरिकी डलर बराबर १,४७३.६ मा कारोबार भएको थियो, जुन अघिल्लो सत्रको तुलनामा ३.९ वोनले कमजोर हो ।

वोन बुधबारसम्म लगातार १० कारोबार दिन ओरालो लागेको थियो । तर, अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले हालको वोनको कमजोरी दक्षिण कोरियाको बलियो आर्थिक आधारसँग मेल नखाने र विदेशी मुद्रा बजारमा अत्यधिक उतारचढाव वाञ्छनीय नभएको टिप्पणी गरेपछि बिहीबार अल्पकालीन सुधार देखिएको थियो । बजारमा यसलाई ‘बेसन्ट प्रभाव’ भनेर चिनिएको थियो, तर त्यो प्रभाव दीर्घकालीन हुन सकेन ।

यसबीच, अमेरिकी रोजगारसम्बन्धी तथ्यांक अपेक्षाभन्दा सकारात्मक आएपछि अमेरिकी डलर बलियो बनेको छ भने जापानी येन कमजोर नै रहँदा क्षेत्रीय मुद्राहरू, विशेषगरी वोनमाथि दबाब बढेको विश्लेषकहरूले बताएका छन् ।

सरकारी तहबाट मौखिक हस्तक्षेप र विभिन्न नीतिगत कदम चालिए पनि हालै वोन १,४५० को संवेदनशील स्तर वरिपरि नै घुमिरहेको छ । विज्ञहरूका अनुसार डलरको निरन्तर मजबुती, भू–राजनीतिक जोखिम र दक्षिण कोरियाली लगानीकर्ताहरूको विदेशी प्रतिभूतिमा उच्च लगानीले वोनलाई दबाबमा राखेको हो ।

मुद्राको कमजोरीका बीच वित्तीय स्थिरता जोगाउन दक्षिण कोरियाको केन्द्रीय बैंक, बैंक अफ कोरिया (BOK) ले बिहीबार आफ्नो नीतिगत ब्याजदर २.५ प्रतिशतमै कायम राखेको छ । यो लगातार पाँचौँ बैठकमा ब्याजदर यथावत् राखिएको हो ।

( साभारः Yonhap)