सुमन कार्की
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियामा क्रियाशील विभिन्न मगर संघ–संस्थाहरूको संयुक्त आयोजनामा माघे संक्रान्ती पर्व–२०८२ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
“भाषा, धर्म र संस्कृति नेपालीहरूको विविधता, विविधतालाई बचाइराख्ने हाम्रो गौरवपूर्ण मौलिकता” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम नेपाल मगर संघ, गणतन्त्र कोरिया छल्ला मोक्पो शाखाको मुख्य व्यवस्थापनमा आयोजना हुन लागेको हो। कार्यक्रममा नेपाल मगर संघ द. कोरिया केन्द्र, नेपाल मगर संघ थेगु शाखा, किम्हे/बुसान शाखा, जेजु शाखा तथा DSME मगर समाज गजेदोको संयुक्त सहकार्य रहेको आयोजकले जानकारी दिएका छन्।
आयोजकका अनुसार कार्यक्रम २०२६ जनवरी १८ तारिख (आइतबार) का दिन मोक्पो विश्वविद्यालयको नयाँ समुद्री उद्योग परिसर (목포대학교 신해양산업단지캠퍼스) मा बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा मगर समुदायको मौलिक भाषा, भेषभूषा, नृत्य, गीत–संगीत तथा विविध सांस्कृतिक प्रस्तुति समेटिने बताइएको छ। साथै, कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।
यस कार्यक्रमले प्रवासमा नेपाली मौलिक संस्कृति संरक्षण तथा आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने विश्वास आयोजकको रहेको छ।

