काठमाडौं, २२ कार्तिक । नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तीमध्ये धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपत् विपतमा छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
दक्षिणी सिमाना सुरक्षा गर्न भन्दै तत्कालीन राजा महेन्द्रले ०२२ मा नवलपरासीको सुस्तामा बस्ती बसाएका थिए। तर, भारतीय राज्यको अतिक्रमण, सीमा फौजको प्रताडनाले सुस्तावासीको जीवन आफैँ असुरक्षित छ। भारतीय पक्षको ज्यादती र नेपाली पक्षको उपेक्षाले सुस्तावासीको जीवन चार पुस्तादेखि आपत्–विपत्मा छ।
सन् १८१६ को सुगौली सन्धि हुँदा नारायणीवारि नेपाल र पारि भारत कायम भएको थियो। तर, विसं। ०१६ मा भएको गण्डक सम्झौतापछि बनेको बाँधले नदीको बहाव परिवर्तन मात्र भएन, नवलपरासीको उर्वर भूमि सुस्ता नारायणीपारि गयो। ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’का आधारमा नेपाल र भारतको सिमाना कायम भएकाले नदीपारि भए पनि सुस्तालाई भारतले आफ्नो भनी दाबी गर्न सकेन। तर, अतिक्रमण भने बढायो।
तत्कालीन राजा महेन्द्रले ०२२ सालमा पूर्वसैनिक र मुस्लिम समुदायलाई सुस्तामा पुनर्वास गराएका थिए । तर, नेपाली बस्ती बसेकोमा असन्तुष्ट भारतीय पक्षले सीमा अतिक्रमणलाई झन् अघि बढायो। हुन त ०२७ सालमा नापीनक्सा गर्न नेपाली कर्मचारी सुस्ता पुगेका थिए। नापी गर्न आएका नेपाली कर्मचारीलाई भारतीय फौजले समातेर लग्यो। उनलाई चार वर्षसम्म भारतले कैदी बनायो। ०२९ सालमा फेरि नापी गरेर पाँच सय ५६ घरधुरीलाई लालपुर्जा दिइएको थियो। त्यसैले उनीहरूले हामीलाई यातना दिन थाले।
