गण्डकी, ५ माघः पोखरामा आज आयोजित एक कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान र संरक्षण राज्यको दायित्व भएकामा जोड दिइएको छ ।
पोखरा महानगरपालिका–३० शिशुवास्थित शिशुवा ज्येष्ठ नागरिक समाजको १४औँ वार्षिकोत्सव समारोहका वक्ताहरूले ज्येष्ठ नागरिकहरू समाजको जीवन्त इतिहास भएको बताउँदै उनीहरूका भोगाइ र अनुुभव नयाँ पुस्ताका लागि प्रेरणा हुने बताएका हुन् ।
प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहोरियाका अध्यक्ष ऋषिराम जमकट्टेलले सन्तुष्टी र शान्तिपूर्ण जीवन नै ईश्वरीय आत्मप्राप्तिको आधार भएको धारणा राख्नुभयो । अस्पतालले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिँदै आएको जानकारी गराउँदै उहाँले नियमित स्वास्थ्य परीक्षण तथा सेवा लिन आग्रह गर्नुभयो ।
शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणमा राज्यका साथै सबैको सामूहिक प्रयास आवश्यक हुने धारणा राख्नुुभयो । समाजमा संस्थागत रूपमा करिब ३०० को हाराहारीमा ज्येष्ठ नागरिक आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । भजन, चुट्का तथा सांस्कृतिक कार्यक्रममार्फत आफ्नो परम्परा र संस्कार जोगाउने दायित्व ज्येष्ठ नागरिकको भएको बताउँदै उहाँले संस्कार संरक्षण केवल विगतको सम्झना नभई भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी भएकामा जोड दिनुभयो ।
पोखरा महानगरपालिका–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले समाजका संस्थापक टीकाराम वास्तोलालाई धन्यवाद दिँदै ज्येष्ठ नागरिक समाजको निरन्तरताले सामाजिक एकता मजबुत बनेको धारणा राख्नुुभयो ।
पत्रकार कविराज खनालले ज्येष्ठ नागरिक समाजका अगुवा भएकाले उनीहरुको दुःखसुखमा साथ दिन सबैमा आग्रह गनुुभयो ।
उक्त अवसरमा संस्थाको हित र विकासमा योगदान पु-याउने दामोदर लामिछाने, कृष्णप्रसाद ढुङ्गाना, बलराम थापा, सुरेन्द्र अधिकारी तथा कृष्णप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो ।

