सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता

प्रशासन मुख्य समाचार राजनीति

बरहथवा (सर्लाही), ६ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बस्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

विगतमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आउनुभएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोज्नुभएको हो । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गर्नुभएको नेता निरोज कार्कीले जानकारी दिनुभयो ।

थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।