काठमाडौँ, ७ माघः जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।
काठमाडौँका सहायक प्रजिअ खिमराज भुसालले नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा लगत रहनेगरी यही माघ २० गतेभित्र हातहतियार बुझाउन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको बताउनुभयो ।
साथै, निर्वाचन सम्पन्न भएको एक महिनापश्चात् उक्त हातहतियार लगत कट्टा गरी फिर्ता गरिने पनि काठमाडौँ प्रशासनले जनाएको छ । “यस सूचनाबमोजिम हातहतियार नबुझाएको पाइए कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ”, जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैबीच गृह मन्त्रालयले देशभरकै प्रशासन कार्यालयहरूलाई यस्ता हतियार सङ्कलनका लागि निर्देशन दिइसकेको छ । मन्त्रालयले शान्तिसुरक्षाका विषयमा गम्भीर हुन र आवश्यक एकीकृत सूरक्षा रणनीतिका साथ काम गर्नै पनि निर्देशन दिइएको छ । सोही आधारमा प्रशासन कार्यालयहरूले हतियार बुझाउन सार्वजनिक सूचना जारी गरिरहेका छन् ।

