युएईमा अमेरिका–युक्रेन–रुस सुरक्षा वार्ता हुने

अन्तराष्ट्रिय

युक्रेन, संयुक्त राज्य अमेरिका र रुसका उच्चस्तरीय अधिकारीहरू शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) मा सुरक्षा वार्ता गर्न भेट्ने भएका छन् । क्रेमलिनका अनुसार, यो भेटघाट मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शीर्ष अमेरिकी वार्ताकारहरूको छलफलपछि हुन लागेको हो, जसले युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी पहललाई अगाडि बढाउने उद्देश्य राखेको छ ।

दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्ला महिनाहरूमा तीव्रता पाएको छ । तर युद्धपछिको सम्भावित सम्झौतामा भूभागसम्बन्धी प्रमुख विषयमा मस्को र किएभबीच अझै गहिरो मतभेद कायम छ ।

क्रेमलिनका अनुसार दूत स्टिभ विटकफको नेतृत्वमा अमेरिकी वार्ताकारहरूले शुक्रबार बिहान मस्कोमा राष्ट्रपति पुटिनसँग वार्ता गरेका थिए । क्रेमलिनका कूटनीतिक सल्लाहकार युरी उसाकोभले पत्रकारहरूसँग कुरा गर्दै ती छलफल ‘हरेक हिसाबले उपयोगी’ भएको बताउनुभयो ।

विटकफ र अमेरिकी टोली त्यसपछि अबुधाबीका लागि प्रस्थान गरेका छन्, जहाँ वार्ता निरन्तर रहने अपेक्षा गरिएको छ । रुसको जिआरयू सैन्य गुप्तचर एजेन्सीका निर्देशक जनरल इगोर कोस्त्युकोभको नेतृत्वमा रुसी प्रतिनिधिमण्डल पनि ‘आउँदो केही घण्टामै’ अबुधाबी पुग्ने उसाकोभले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षा मामिलासम्बन्धी त्रिपक्षीय कार्य समूहको पहिलो बैठक आज अबुधाबीमा हुने सहमति भएको छ । उसाकोभले रुस राजनीतिक र कूटनीतिक माध्यमबाट द्वन्द्व समाधान गर्न इच्छुक रहेको उल्लेख गर्दै, तर त्यस्तो समाधान नहुँदासम्म आफ्ना उद्देश्य युद्धको मैदानमै हासिल गर्न प्रयास जारी रहने चेतावनी पनि दिनुभयो ।

यसअघि विटकफले दुवै पक्ष ‘एक मुख्य मुद्दासम्म नजिक पुगेको’ विश्वास व्यक्त गर्नुभएको थियो, यद्यपि विस्तृत जानकारी दिनुभएको थिएन । क्रेमलिनद्वारा सार्वजनिक भिडियोमा राष्ट्रपति पुटिनले मुस्कुराउँदै विटकफ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र ह्वाइट हाउसका सल्लाहकार जोश ग्रुएनबामसँग हात मिलाइरहेको दृश्य देखाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सम्झौताको मस्यौदा ‘लगभग तयार’ भइसकेको र आफू तथा राष्ट्रपति ट्रम्पबीच युद्धपछिको सुरक्षा ग्यारेन्टीका विषयमा सहमति भएको बताउनुभएको केही घण्टापछि यो उच्चस्तरीय भेटघाट भएको हो । उहाँका अनुसार बेलायत र फ्रान्सले पहिले नै भूमिमा सेना तैनाथ गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

अबुधाबीमा हुने वार्तामा युक्रेनको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमरोभले गर्नुहुनेछ । प्रतिनिधिमण्डलमा युक्रेनी सशस्त्र बलका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल एन्ड्री ग्नाटोभ पनि सहभागी हुनुहुनेछ ।

हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग ओगटेको छ र सम्झौताका सर्तका रूपमा पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणको दबाब दिइरहेको छ । तर किएभले मस्कोलाई प्रोत्साहन हुने खालको सम्झौता अस्वीकार्य हुने र रुसलाई नयाँ आक्रमणबाट रोक्न असफल शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ ।

संयुक्त अरब इमिरेट्समा हुने वार्ताको विस्तृत कार्यसूची अहिलेसम्म सार्वजनिक गरिएको छैन र रुसी तथा युक्रेनी अधिकारीहरू प्रत्यक्ष रूपमा आमनेसामने भेट्नेछन् कि भेट्ने छैनन् भन्ने विषय पनि अझै स्पष्ट छैन । राष्ट्रपति जेलेन्स्कीका अनुसार यी वार्ताहरू दुई दिनसम्म सञ्चालन हुनेछन् ।

यसैबीच, राष्ट्रपति ट्रम्पले बुधबार पुनः पुटिन र जेलेन्स्की सम्झौताको नजिक पुगेको आफ्नो विश्वास दोहोर्‍याउनुभएको थियो । डाभोसमा भाषणपछि उहाँले दुवै पक्ष सम्झौतामा नआए ‘मूर्ख ठहरिने’ टिप्पणी गर्नुभएको थियो ।

डाभोसमा आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले पुटिनको सामना गर्न युरोपेली सङ्घ (इयु) मा आवश्यक ‘राजनीतिक इच्छाशक्ति’ को कमी रहेको कडा आलोचना गर्नुभयो । उहाँका शब्दमा, युरोप विश्वव्यापी शक्ति बन्नुको सट्टा ‘खण्डित साना र मध्यम शक्तिहरूको समूह’ जस्तै देखिएको छ ।

यस हप्ता भएको रुसी आक्रमणले किएभको ठूलो भाग अन्धकारमा डुबेको छ । उप–शून्य तापक्रममा करिब चार हजार भवनका बासिन्दा तापविहीन भएका छन् । रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई सैन्य लक्ष्य भन्दै आक्रमण गरेको दाबी गरे पनि किएभले ती हमलालाई नागरिक जनसङ्ख्यालाई कमजोर पार्ने उद्देश्यले गरिएको युद्ध अपराधको संज्ञा दिएको छ ।