नेपाल सरकार र साउदी अरब सरकारबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा मिति २०८२ माघ ११ गते आइतबार साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो।
सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री माननीय अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभएको हो। सम्झौतामा हस्ताक्षर हुनुअघि दुबै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो।
बैठकका क्रममा मन्त्री भण्डारीले यस सम्झौताले नेपाल र साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत तथा मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउने बताउनुभयो। साथै यसबाट साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा टेवा पुग्ने उल्लेख गर्नुभयो।
सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौताको कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयलाई प्राथमिकताका साथ समेटिएको छ। दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधामा सुरक्षा, स्थायित्व र विश्वास बढ्ने अपेक्षा गरिएको छ।

