दक्षिण कोरियाली सामानमा अमेरिकाले बढायो भन्सार शुल्क

कोरियाअपडेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दक्षिण कोरियाबाट आयात हुने विभिन्न वस्तुमा लाग्ने भन्सार शुल्क (ट्यारिफ) बढाउने घोषणा गरेका छन्। वासिङ्टनसँग यसअघि भएको व्यापार सम्झौता दक्षिण कोरियाले पूर्ण रूपमा कार्यान्वयन नगरेको आरोप लगाउँदै उनले यस्तो कदम चालेका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा लेख्दै भने,
“कोरियाली संसदले हाम्रो ऐतिहासिक व्यापार सम्झौता अनुमोदन नगरेको कारण—जुन उनीहरूको अधिकार हो—अब म दक्षिण कोरियाबाट आउने गाडी, काठ, औषधि तथा अन्य सबै पारस्परिक (Reciprocal) ट्यारिफ लाग्ने वस्तुमा शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउँदैछु।”
ट्रम्पको यो निर्णय केही महिनाअघि मात्र वासिङ्टन र सियोलबीच भएको व्यापार तथा सुरक्षा सम्झौतापछि आएको हो। उक्त सम्झौताले लामो समयदेखि चल्दै आएको तनावपूर्ण वार्तालाई अन्त्य गरेको मानिएको थियो। तर अहिले ट्रम्पको पछिल्लो घोषणाले अमेरिका–दक्षिण कोरिया व्यापार सम्बन्धमा फेरि अनिश्चितता थपिएको छ।