भाषा आर्थिक, सामाजिक र सांस्कृतिक विनिमयको साधन पनि होः अध्यक्ष ठाकुर

मुख्य समाचार समाचार स्वास्थ्य/शिक्षा

काठमाडौँ, १९ माघः भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषा केवल सञ्चारको माध्यम मात्र नभई आर्थिक, सामाजिक तथा सांस्कृतिक विनिमयको महत्वपूर्ण साधनसमेत भएको बताउनुभएको छ ।

मातृभाषामा शिक्षासम्बन्धी सिफारिस २०८२ तथा अन्तरराष्ट्रिय मातृभाषा दशक (सन् २०२२–२०३२) अन्तर्गत आयोगले तयार पारेको राष्ट्रिय कार्ययोजनाबारे आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भाषालाई कमाइ खाने भाँडोका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भाषाको सबलीकरणका लागि राज्यले स्पष्ट नीति र पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिँदै सरकारी कामकाजको भाषा र मातृभाषाबीच सन्तुलन कायम गर्दै दुवैको समानान्तर विकास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

भाषा आयोगका कामु सचिव डा लोकबहादुर लोप्चनले विद्यालय तहमा मातृभाषालाई विषयका रूपमा पठनपाठन गर्न आयोगले सिफारिस गरेको बताउनुभयो । उहाँले विद्यालय तथा विश्वविद्यालय तहमा मातृभाषालाई माध्यम र विषय दुवैका रूपमा पठनपाठन गर्न मौजुदा शिक्षक तथा प्राध्यापकको सक्षमता अभिवृद्धि गर्नुका साथै क्याम्पस तहमा मातृभाषाका प्राध्यापकको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा मातृभाषा शिक्षाका लागि भाषाहरू सिफारिस गर्ने, स्थानीय तहमा मातृभाषा जान्ने कर्मचारी राख्ने तथा लोकसेवा आयोगद्वारा लिइने परीक्षामा मातृभाषामै परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने विषय सरकारसमक्ष सिफारिस गरेको सचिव लोप्चनले जानकारी दिनुभयो ।