काठमाडौं । वैदेशिक हुलाकबाट विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गतको वैदेशिक हुलाक भन्सार शाखा (गोश्वारा हुलाक, डिल्लीबजार) मा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका सहयोगी गणेश प्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्।
घटना विवरण: कुरियरमार्फत विदेशमा सामान पठाउँदा कर्मचारीहरूले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालस्थित टोलीले उनीहरूलाई निगरानी गरेको थियो। सोही क्रममा माघ १८ गते डिल्लीबजारस्थित कार्यालयबाटै उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
के-के बरामद भयो? अख्तियारको टोलीले निजहरूको साथबाट घुस रकम, स्रोत नखुलेको नगद र मोबाइल सेटहरू बरामद गरेको छ । आयोगले तिनै जनाको साथबाट कुल रु. २,६८,२८८।– (दुई लाख अडसठ्ठी हजार दुई सय अठासी रुपैयाँ) बरामद गरेको छ। जसमा घुसबापत लिएको र स्रोत नखुलेको रकम समावेश छ। कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको घर्रा र साथबाट मात्रै १ लाख ४६ हजारभन्दा बढी रकम फेला परेको थियो। विभिन्न व्यक्तिहरूबाट ल्याइएका २३ थान मोबाइल सेट पनि नियन्त्रणमा लिइएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

