बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि बढ्दो डर

अन्तराष्ट्रिय

सत्ताइस वर्षीय हिन्दू गार्मेन्ट कामदार दीपु चन्द्र दासलाई डिसेम्बरमा उहाँका केही मुस्लिम सहकर्मीहरूले पैगम्बर मुहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए । यसले उहाँको कार्यस्थलमा हिंसात्मक भिड आकर्षित गर्‍यो । उहाँलाई पिटेर मारिएको थियो, शरीर रूखमा झुन्ड्याइयो र आगो लगाइयो ।

बङ्गलादेशभरका हिन्दूहरूले आफ्नो फोनमा रेकर्ड गरिएका तस्बिरहरू डरका साथ हेरे । न्याय र सुरक्षा माग गर्दै प्रदर्शनकारीहरूले ढाका र अन्य सहरहरूमा विरोध प्रदर्शन गरे । मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले अनुसन्धानको आदेश दियो र प्रहरीले करिब एक दर्जन व्यक्तिलाई पक्राउ गर्‍यो ।

तर मानव अधिकार समूह र हिन्दू नेताहरूका अनुसार हत्या एउटा पृथक घटना होइन, तर बढ्दो ध्रुवीकरण, इस्लामवादीहरूको पुनरुत्थान र दण्डहीनताको संस्कृतिसँग जोडिएको अल्पसङ्ख्यक समुदायमाथि व्यापक आक्रमणको भाग हो । फेब्रुअरी १२ मा हुने राष्ट्रिय निर्वाचन नजिकिँदै गर्दा हिन्दूहरूमा डर अझ व्यापक छ ।

ढाकास्थित हिन्दू मानव अधिकार कार्यकर्ता रञ्जन कर्माकरले भन्नुभयो, “अब कोही सुरक्षित महसुस गर्दैनन् । सबै डराएका छन् ।”

बङ्गलादेशमा मुलुकको कुल जनसङ्ख्या १७ करोडमा हिन्दूहरू करिब एक करोड ३१ लाख अर्थात आठ प्रतिशत मात्र छन् । मुस्लिमहरूको जनसङ्ख्या ९१ प्रतिशत छ । बङ्गलादेश हिन्दू बौद्ध क्रिश्चियन युनिटी काउन्सिलले सन् २०२४ को विद्रोहदेखि २००० भन्दा बढी साम्प्रदायिक हिंसाका घटनाहरू दर्ता गरेको छ, जसमा ६१ हत्या, महिलामाथि हिंसा, पूजास्थलमा आक्रमण र तोडफोड समावेश छन् ।

मानव अधिकार कार्यकर्ता कर्माकरका अनुसार हिन्दूहरू प्रायः एक पक्षको मतदानका रूपमा हेरिन्छन्, जसले उनीहरूको असुरक्षा बढाउँछ । “हिंसामा संलग्न व्यक्तिहरूलाई कानूनअन्तर्गत ल्याइएको छैन, न्याय प्रणालीमा जवाफदेही बनाइएको छैन । यसले हिंसा जारी रहने धारणा सिर्जना गर्छ”, उहाँले भन्नुभयो ।

सबैभन्दा ठूलो इस्लामवादी पार्टी जमात–ए–इस्लामी र विद्यार्थी शाखाको पुनरुत्थानसँगै हिन्दूमाथिको आक्रमण बढेको छ । पार्टीले निर्वाचनमा प्रभाव पुनः प्राप्त गर्ने अवसरका रूपमा यसलाई हेर्छ । यसले सार्वजनिक ¥यालीहरू आयोजना ग¥यो र हिन्दू समुदायका नेतालाई उम्मेदवार मनोनयन ग¥यो ।

राजनीतिक विश्लेषक अल्ताफ परवेजका अनुसार यस्ता कदम धेरै हदसम्म प्रतीकात्मक छन् र अल्पसङ्ख्यक मतदातामा असर पार्ने उद्देश्य राख्छन् । ग्रामीण क्षेत्रमा व्यवस्थित आक्रमणले आगामी निर्वाचनमा अल्पसङ्ख्यक सहभागिता घटाउने खतरा पैदा गरेको छ ।

हिन्दूहरूमाथिको आक्रमणले छिमेकी भारतसँग पनि तनाव बढाएको छ । भारतको विदेश मन्त्रालयले बङ्गलादेशमाथि हिन्दूहरूमाथि हुने बारम्बार आक्रमणलाई कम महत्त्व दिएको आरोप लगाएको छ । यसले कूटनीति र खेलकुद कार्यक्रमहरूमा असर पुर्‍याएको छ ।

दीपु चन्द्र दासको हत्याले उहाँको परिवारमा गहिरो पीडा पुर्‍याएको छ । उहाँका बुबाले भन्नुभयो, “फोनमा तस्बिर हेरेर मेरो छाती फुटेको जस्तो लाग्यो ।” उहाँकी आमा शेफाली रानी दासले भन्नुभयो, “मेरो छोरालाई कुटपिट गरी, झुन्ड्याएर जलाइयो । म न्याय खोज्छु ।”