सुडानमा युद्ध विराम गरी मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसङ्घको आह्वान

अन्तराष्ट्रिय

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला उप–महासचिव तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले सुडानमा युद्धविराम गरी सहायता विस्तारलाई अनुमति दिन आह्वान गर्नु भएको छ ।

सुडानमा मानवीय प्रतिक्रियाका लागि स्रोत परिचालन गर्न वासिङ्टनमा अमेरिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै फ्लेचरले जारी लडाइँका कारण एक हजार दिन भन्दा बढी समय देखि देशको गम्भीर मानवीय सङ्कट जारी रहेको उल्लेख गर्नु भएको छ ।

उहाँले मानवीय युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घको समर्थन दोहोरÞ्याउँदै देशमा शान्तिको मार्ग प्रशस्त गर्न शत्रुता अन्त्यको आवश्यकता माथि जोड दिनु भएको छ ।

आफ्नो सम्बोधनमा, फ्लेचरले निरन्तर विस्थापन र बिग्रँदै गएको मानवीय अवस्थालाई रोक्न सुडानमा द्रुत गतिमा सहयोग विस्तार गर्नु पर्ने बताउदै लडाइँ भइरहेको प्रमुख क्षेत्रहरूमा निशस्त्रीकरणको आह्वान गर्नु भएको छ ।

संयुक्त राष्ट्रसङ्घले सुडानमा लामो युद्धका कारण ९३ लाख आन्तरिक विस्थापित हुनुका साथै ४३ लाख भन्दा बढी मानिसहरू सुडानबाट भागेको जनाएको छ ।