‘आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ’ : गगन थापा

मुख्य समाचार राजनीति समाचार

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा फसेको भन्दै यस्तो अवस्थामा आगो लगाउने नभई देश सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्।

शुक्रबार नेपाली कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजनाको राजनीतिले देशलाई थप संकटतर्फ धकेल्ने बताउँदै कांग्रेसले धैर्यपूर्वक निकास दिनुपर्नेमा जोड दिए।

‘आगो निभाउने तागत कांग्रेससँग छ’ देशको वर्तमान अवस्थालाई चित्रण गर्दै उनले भने, ‘अहिले देश सम्हाल्ने शक्ति चाहिएको छ। आगो जसले पनि लगाउन सक्छ, तर निभाउन धैर्यता र क्षमता चाहिन्छ। त्यो तागत कांग्रेसले राख्नुपर्छ।’ उनले थपे, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर हामीलाई चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ, त्यो शक्ति कांग्रेस हो। हामी बिग्रेको अवस्थालाई मिलाउँछौँ र देशलाई सम्हाल्छौँ।’

चरम अविश्वास र सामाजिक कोलाहल नागरिक स्तरमा राज्य संयन्त्रप्रति गहिरो आक्रोश रहेको उल्लेख गर्दै थापाले राज्यका संस्थाहरू, संविधान, अदालत र राजनीतिक नेतृत्वप्रति जनताको विश्वास गुम्दै गएको बताए।

‘नागरिकको मनमा गहिरो रिस छ, समाजमा एउटा ठुलो कोलाहल छ र भित्रभित्रै आगो बलिरहेको छ,’ उनले भने, ‘अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्थामा, देशलाई सम्हाल्ने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ।’

‘भ्रष्टाचार विरुद्धको मुख्य योद्धा कांग्रेस’ मुलुकमा व्याप्त निराशाको मुख्य जड भ्रष्टाचार रहेको सभापति थापाको तर्क छ। जनताले भ्रष्टाचारलाई देशको सबैभन्दा ठुलो शत्रु मानेको बताउँदै उनले कांग्रेस अब भ्रष्टाचार विरुद्धको सशक्त योद्धाका रूपमा उभिने दाबी गरे।

‘नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि हामीले नै बाहिर निकाल्छौँ,’ उनले प्रतिबद्धता जनाए, ‘कांग्रेसको टाउको देखि पुच्छरसम्मका प्रत्येक नेताले यो सङ्कल्प गर्नुपर्छ।’

उनले आम नागरिकको घरदैलोमा जाँदा कांग्रेसले देश सुधार्छ र सम्हाल्छ भन्ने विश्वास र सन्देश लिएर जान कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।