रमेश सिवाकोटी
सौल/ दक्षिण कोरिया ।
“दैवले ठगे पनि मान्छेले ठग्दैन” भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै कोरियामा रहेका नेपाली समुदाय एउटा असाधारण मानवीय अभियानमा जुटेका छन्। कोरियाली महान् पर्व ‘सल्नाल’ (लुनार न्यू इयर) को उल्लासका बीच, लामो समयदेखि अशक्त रुपमा हस्पिटलको बेडमा रहन बाध्य चन्द्र कुमार राईलाई नयाँ जीवन दिन सौलमा फेब्रुअरी १५ का दिन एक विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
कोरिया–नेपाल इन्स्टिच्युट फर कल्चरल प्रमोशन (KNICP) को आयोजनामा आगामी फेब्रुअरी १५ मा हुन लागेको “सांगीतिक साँझ तथा डीजे कार्यक्रम” बाट संकलित सम्पूर्ण रकम राईको उपचारमा खर्च गरिनेछ।
उक्त सांगितिक कार्यक्रममा नेपालबाट बहुचर्चित कलाकारहरूको जमघट हुने भएको छ। यो केवल सांगीतिक मनोरञ्जन मात्र नभई, एक नेपालीको प्राण बचाउने सामूहिक प्रयत्न हो। यस पुण्य कार्यका लागि नेपालबाट ‘द भ्वाइस अफ नेपाल’ का चर्चित प्रतिभाहरू र स्थापित कलाकारहरूको टोली सियोल ओर्लिनेछ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
• गायिका समूह: स्मिता प्रधान, बविना किराती राई, सम्झना योङहाङ, अञ्जु कुश्मी, र तुलसा लिम्बु।
• गायक: प्रदीप राई।
• नृत्य: चर्चित डान्सर धारा थापा।
• डीजे: डिजे आरएक्स (DJ RX) को विशेष प्रस्तुति।
प्रवासको व्यस्त समयलाई मध्यनजर गर्दै आयोजकले सहभागीहरूको सहजताका लागि दोङ्देमुनबाट कार्यक्रम स्थल (च्योङ्र्याङ्री) सम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको छ।
कार्यक्रमको विवरण:
• मिति: २०२६ फेब्रुअरी १५, आइतबार (रातभर)
• समय: बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म
• स्थान: ह्युन्दे कोआ, च्योङ्र्याङ्री स्टेशन (गेट नं. २), सियोल।
यस कार्यक्रममा सहभागी हुनु भनेको मनोरञ्जन लिनु मात्र नभई चन्द्र कुमार राईलाई “पुनर्जन्म” दिनु हो। आयोजकले सम्पूर्ण संघ-संस्था र मनकारी नेपालीहरूलाई यस महान् अभियानमा हातेमालो गर्न हार्दिक अपिल गरेको छ।

