जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर

आर्थिक कृषि समाचार

जुम्ला, २६ माघः जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरीय घुम्ती तालिम सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिकासहित तिला, हिमा, पातारासी, सिंजा र कनकासुन्दरी गाउँपालिका भित्रका स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापनको किसानलाई घुम्ती तालिम दिइएको हो ।

यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कार्यालयको आर्थिक तथा प्रविधिक सहयोगमा जिल्लाका आठवटै स्थानीय तहका स्याउ किसानका बगैँचामा पुगेर जानकारी दिनेदेखि प्रविधिक सहयोग सिकाउन कृषि प्रविधिक लागिपरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गुठीचौर र तातोपानी गाउँपालिका किसानलाई उक्त तालिम दिनका लागि सबै प्रक्रिया अघि बढिसकेको छ ।

किसानलाई बगैँचा काँटछाँट तथा उपयुुक्त स्याउ व्यवस्थापन गर्नेसम्बन्धी प्रभावकारी ज्ञान नहुँदा समस्या हुँदै आएकाले तालिम दिइएको प्रमुख अधिकारीले बताउनुभयो । कार्यालयले यहाँका सबै स्थानीय तहमा कृषि प्रविधिक खटाएको छ । स्याउ किसानलाई राम्रोसँग बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न सिकाउनेदेखि थप प्रविधिक ज्ञान दिने गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

कृषि विकास कार्यालयबाट प्रविधिकले बगैँचामा पुगेर स्याउ काँटछाँट गर्न सिकाउँदा यहाँका किसानलाई निकै राहत पुगेको तिला गाउँपालिका स्याउ किसान नौसेर रोकायाले बताउनुभयो । अहिले कृषि प्रविधिकबाट बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न किसानलाई थप प्रविधिक ज्ञानबारे जानकारी दिएकाले सहज भएको यहाँका स्याउ किसान बताउँछन् ।

“पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग जानेका छैनन् । सहज खेतीका लागि प्रोत्साहन गर्ने उद्देश्यले तालिम उपलब्ध गराएका हौँ”, प्रमुख अधिकारीले भन्नुभयो ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन् । जिल्लामा कुल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको कार्यालयले जनाएको छ । त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१/८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

चालु आवमा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको छ । पछिल्लो समय जिल्लामा स्याउखेती गर्ने किसान बढ्दै गएका छन् । आव २०८१/८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन आव २० हजार ५१२ मेट्रिकटन भएको थियो । चालु आवमा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटन भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

जिल्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ । यो वर्ष जिल्लामा ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको छ । जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा रेडडेलिसियस, रोयलडेसियस, गोल्डेन, डेलिसियस, रिचारेडरजनाधन रहेका कृषि विकास कार्यालयले जनाएको छ ।