
३२ वर्षिय युवा रोशन शाही राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार रहनु भएको छ । विकासप्रेमी र समाजसेवी स्वभावका शाहीले कोभिट प्रभावितलाई निशुल्क खाना खुवाउनु भयो । विगत ३ वर्षदेखि ‘हुनेले दिने नहुने लिने’ अभियान संचालन गरिरहनु भएको छ । पेशाले उहाँ फर्निचर र निर्माण व्यवसायी हुनुहुन्छ । उहाँको यस क्षेत्रमा सव्रिmयतासँगै कैलाली फर्निचर व्यवसायी संघको उपाध्यक्ष हुनुहुन्छ । यस्तै शाही राप्रपाको युवक संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन धनगढी उपमहानगरपालिका कार्यसमितिको अध्यक्ष हुनुहुन्छ । यस अघि उहाँ धनगढी उपमहानगरपालिका वडा नं. १ मा वडा अध्यक्ष उठ्नु भएको थियो । हिन्दु धर्म र राजसंस्था पुनस्थापना गर्न, देशबाट भ्रष्टाचार अन्त गर्न राप्रपामा लाग्नु भएका जुझारु र इमान्दार स्वभावको हुनुहुन्छ रोसन शाही । प्रस्तुत छ राप्रपा उममेदवार रोशन शाही सँग गरिएको कुराकानी :
तपाई राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा कैलाली जिल्ला क्षेत्र नंं ५ बाट उम्मेदवार बन्नु भएको छ । कस्तो लागिरहेको छ ?
राजसंस्थावादी, हिन्दुवादी, भ्रष्टाचार विरोधी र विकासवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभा सदस्य पदमा कैलाली क्षेत्र नं. ५ वाट उम्मेदवार बन्न पाउँदा म मनै देखि खुसि र उत्साहित छु । म उमेरले सानो भए पनि राजनीति प्रति चासो छ । मलाई मनै देखि राजसंस्था र हिन्दुधर्मको माया छ । यहि माया बोकेर चुनावी मैदानमा छु । म राजसंस्था र हिन्दुराज्य पुनस्थापनाका लागि सधै संघर्षरत रहदै आएको छु । संघर्ष गरिरहने छु । म राप्रपाले लिएको यहि एजेण्डालाई सफल पार्न चुनावी मैदानमा उत्रिएको हुँ । विगतमा जे भयो, भयो, यस पटक यो राप्रपाले जित्ने क्षेत्रका रुपमा स्थानीय वासिन्दाले मूल्याङ्गन गर्नु भएको छ । यस क्षेत्रमा मेरो बेग्लै परिचय छ । यस क्षेत्रमा युवा राजनीति गरे, समाजसेवा पनि यहि गरे, व्यवसाय पनि यहि गरिरहेको छु । अब चुनाव पनि यहि उठिरहेको छु । म युवक भएकाले सबैले मलाई मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु । आगामी दिनमा पनि यहिका जनताको सेवा गर्ने छु । मलाई स्थानीय जनताले तपाई हाम्रो तर्फबाट यस पटक चुनाव उठिदिनु प¥यो, जित्नु प¥यो भनेको कुरा सबै समस्त सबैलाई स्मरण गराउन चाहान्छु । म राप्रपा भए पनि सबै जनतालाई समान व्यवहार गर्दै आएको छु । सरसर्ती भन्नु पर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको छ । त्यसैले मैले जित्ने धेरै आधार रहेको छ । म जिते पछि पनि सबै मतदाताको मतलाई सधै सम्मान गरेर अघि बढ्ने छु ।
यस क्षेत्रमा राप्रपाको सङ्गठन कस्तो छ ?
राप्रपा फरक धारको पार्टी हो । संवैधानिक राजसंस्था र हिन्दु राज्य राप्रपाको प्रमुख एजेण्डा हो । यहि जनमत संग्रह गर्ने हो भने यहि एजेण्डामा बहुमत आउने पक्का छ । एकातिर यस्तो अवस्था छ भने अर्को तिर राप्रपाको सङ्गठन विगत भन्दा हजार गुणा बढ्दै पनि गएको छ । कसैले राप्रपालाई होच्याउन सङ्गठन छैन भने पनि हाम्रो पार्टीको सङ्गठन दिनदिनै बढ्दै गएको छ । जनताले यस पटक रोशन शाहीलाई जिताउछु भनेको अवस्था छ । कैलालीमा मात्र हैन देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई जिताउने बेला आएको छ । अहिले हामीलाई नजिताए कहिले जिताउने ? म आम मतदातालाई भन्न चाहान्छु तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी स्पष्ट एजेण्डामा मत मागिरहेका छौं ।
जनताले राप्रपालाई नै किन जिताउने ?
पहिलो कुरा राप्रपा जन्मजात इमान्दार र भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारण गर्न राप्रपाले स्पष्ट वहुमत ल्याउनु पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हाम्रो मत बढेको हो । हामी जित्दै छौं । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउँदै छन् । यस पटकका निर्वाचनमा भ्रष्टाचार विरोधीले जित्दैछौ, यस पटक विकासवादीले जित्दैछौ । यस पटक राजसंस्थावादीले जित्दैछौं । यस पटक हिन्दुवादीले जित्दैछौं । हाम्रो एजेण्डा स्पष्ट छ, हामी वर्तमान व्यवस्थामा फेरवदल चाहान्छौं । संवैधानिक राजसंस्था र हिन्दुराज्य स्थापना गर्नु हाम्रो ‘वटम लाइन’ हो । यो निर्वाचनलाई हाम्रो एजेण्डा स्थापित गर्ने आन्दोलनको रुपमा लिइरहेका छौं । संसदबाटै हिन्दु राज्य र संवैधानिक राजसंस्था स्थापित हुनेछ भन्ने विश्वास लिएका छौं ।
यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो पार्टी हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । ‘हलो’ प्रति जनताको अगाध आस्था, विश्वास र भरोसा छ । अब हामीले अहिले नजिते कहिले जित्ने ? यहि निर्वाचनबाटै हाम्रा एजेण्डा स्थापित हुनेछ ।
राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउला त ?
अवस्था आउछ, राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौं । हाम्रो पहिलो भरोसा हिन्दु नै हुन । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ सहयोग र माया चाहिएको छ । यो निर्वाचनमा हिन्दु धर्म र राजसंस्था मान्नेले शक्ति प्रदर्शन गर्नु पर्छ ।
अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस् न ?
यस पटक विकासवादीलाई रोजिदिनु होला । हिन्दुवादीलाई रोजिदिनु होला । राजावादीलाई रोजिदिनु होला । कैलाली क्षेत्र नं. ५ बाट पनि हाम्रो एजेण्डाको अनुमोदन हुनेछ भन्ने विश्वास लिएको छु । मलाई अरु पार्टीको झण्डा हेरेर होइन मन मित्रको मत दिनु होला । मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ सहयोग गरिदिनु होला । यो राम्रो अवसर हो, अवसर छ, राप्रपालाई जिताउनु होला ।

