घोषणा पत्र होइन प्रतिज्ञा पत्र लिएर आउँछौं :सभापति गगन थापा

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति पाँच वर्षे योजनामा मात्र सीमित नभइ दैनिक कार्यसम्पादन र जवाफदेहीतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहीताको नयाँ अध्याय सुरू गर्ने बताउनु भयो ।

कांग्रेसको सरकार बन्दै गर्दा प्रधानमन्त्रीले पाँच वर्षको अमूर्त कुरा नगर्ने समेत उहाँले स्पष्ट पार्नुभयो । हरेक ३० दिनमा प्रधानमन्त्री देशबासीको सामू उभिएर गएको महिना के काम भयो र के हुन सकेन भन्ने स्पष्ट हिसाब दिने पनि उहाँले बताउनु भयो । काठमाडौंको आफ्नो सुरक्षित मानिने निर्वाचन क्षेत्र छाडेर मधेशको भित्रि भेग सर्लाही—४ बाट चुनावी मैदानमा उत्रिनुको कारण प्रस्ट्याउँदै थापाले मधेश नबुझी देशको सफल नेतृत्व गर्न असम्भव रहेको बताउनु भयो ।

पहाडमा जन्मिएको र सहरमा हुर्किएको हुनाले आफूले ती क्षेत्रको दुःख र सुख बुझेको बताउँदै उहाँले मधेशका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’ सँग जोड्न आफू सर्लाही गएको बताउनु भयो । उहाँले ५—५ वर्षमा भोट माग्न मात्र आउने र त्यसपछि बेपत्ता हुने राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्दै नयाँ कार्यशैलीका साथ अघि बढ्ने संकल्प समेत व्यक्त गर्नुभयो ।