मैत्री सम्बन्ध थप विस्तार हुने दुवै राष्ट्रपतिको विश्वास

मुख्य समाचार राजनीति

काठमाडौँ, २८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज अपराह्न भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।

विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गर्नुभएकामा उहाँलाई धन्यवाद दिनुभयो । दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताउनुभयो ।

बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गर्नुभयो । बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । नेपाल भ्रमण गर्ने निम्ता दिनुभएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उहाँका बङ्गलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बङ्गलादेशका उच्च अधिकारीको समेत सो अवसरमा सहभागिता थियो ।

यसअघि राष्ट्रपति हमिदको उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछ्ुट्टै भेटवार्ता भएको थियो । त्यस्तै आजै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको शिष्टाचार भेटवार्ता भएको थियो । उहाँहरुसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तरराष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने अपार सम्भावना रहेको बताउनुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा राष्ट्रपति भण्डारीले लामो समयपछि बङ्गलादेशबाट भएको उच्चस्तरीय औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भएको बताउनुभयो । उहाँले बङ्गलादेशसँग दौत्य सम्बन्ध कायम भएदेखि नै दुवै देशबीच घनिष्ठ सम्बन्ध रहेकामा सन्तोष व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले दुवै मुलुकसँग आर्थिक विकासमा अपार सम्भावना रहेको बताउँदै नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यासलाई दुवै देशको आर्थिक समृद्धिमा जोड्न सकिने धारणा व्यक्त गर्नुभयो । बङ्गलादेशले हालै गरेको तीव्र विकासले आफूलाई खुशी लागेको बताउँदै उहाँले दुवै देशबीच व्यापार, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहयोग आदानप्रदान आवश्यक रहेकामा जोड दिनुभयो । नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको अवगत गराउँदै उहाँले विश्वको सर्वाेच्च शिखर सगरमाथालगायत नेपालको पुरातात्विक सम्पदाले बङ्गलादेशका जनता नेपाल भ्रमणमा आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले सन् २०२० अप्रिल २ देखि ४ सम्म पहिलो पटक जलवायु परिवर्तनको विषयसँग सम्बन्धित सगरमाथा संवाद आयोजना गर्न लागेको बताउँदै राष्ट्रपति भण्डारीले उक्त संवादमा बङ्गलादेशबाट उच्चस्तरको प्रतिनिधित्व हुने अपेक्षा व्यक्त गर्नुभयो । साझा चासो र हितमा द्विपक्षीय सहयोग बढाउँदै लैजानुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले गरीबी, बेरोजगारी, महिला हिंसा र कुपोषणबाट उन्मुक्ति पाउन यस क्षेत्रका क्षेत्रीय संस्था सार्क र बिम्स्टेकलाई सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रत्युत्तर भाषणमा बङ्गलादेशका राष्ट्रपतिले राष्ट्रपति भण्डारीसँग आज अपराह्न अत्युत्तम द्विपक्षीय भेटवार्ता भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालको उच्च राजनीतिक नेतृत्वसँग भएका भेट द्विपक्षीय सम्बन्ध र सहयोगलाई बढाउनेमा नै केन्द्रित रहेका बताउनुभयो ।

उहाँले जलस्रोत व्यवस्थापन, जलविद्युत् उत्पादन, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, जलमार्ग, हवाई मार्ग, रेलसडकसहितका सम्पर्क सञ्जालका क्षेत्रमा दुवै देशले साझेदारी गर्न सक्ने प्रचूर सम्भावना छन् भन्दै ती क्षेत्रमा सहयोग बढाउन आफ्नो देश तत्पर रहेको बताउनुभयो ।

बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा बङ्गलादेश र नेपालले साझा चासोका मामिलामा साझेदारी गर्दै आएको बताउँदै उहाँले आफ्नो देश र नेपालका शान्ति सैन्यले राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा उल्लेखनीय योगदान गरिरहेको उल्लेख गर्नुभयो । बङ्गलादेशले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले सन् १९७१ को बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन नेतृत्वबाट प्राप्त नैतिक एवं भौतिक सहयोगको सराहना गर्नुभयो ।

बङ्गलादेश र नेपाल इतिहास, संस्कृति र भाषाले अझ निकट जोडिएको बताउँदै उहाँले सन् २०२० मा राष्ट्रपिता बङ्गबन्धुको जन्मशतवार्षिकी समारोहका अवसरमा आयोजना हुने खुशीयालीको विशेष कार्यक्रममा नेपालबाट पनि सहभागिताको अपेक्षा गर्नुभयो । नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले नीति तथा कार्यक्रमका लक्ष्य हासिल गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा सक्दो सहयोग गर्न बङ्गलादेश तत्पर रहेको बताउनुभयो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री, मन्त्रि, सरकारका विशिष्ट श्रेणाीका कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो ।