काठमाडौं, २९ कात्तिक । नेपाल भ्रमण वर्ष, २०२० अभियानको प्रवद्र्धनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘टेलिभिजन शो’ प्रसारण हुने भएको छ । निजी क्षेत्रको साझेदारीमा ‘पल्सर द नेक्ट डेस्टिनेसन’ पाक्षिक टेलिभिजन ‘ट्राभल शो’ निर्माण गरी प्रसारणको तयारी गरेको भ्रमण वर्ष सचिवालयलले आज यहाँ आयोजित पत्रकार सममेलनमा जानकारी दियो ।
नेपाल टेलिभिजन र हिमालय टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रममा नेपालका २६ पर्यटकीय गन्तव्यलाई समेटिएको छ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचारप्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य छ । गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक स्थलसँगै त्यहाँको जीवनशैली, खानपान र कथा व्यथालाई समेटिएको छ । भ्रमण वर्षलाई सफल बनाउन र नेपालप्रति सकारात्मक भाव जगाउने लक्ष्यका साथ टेलिभिजन कार्यक्रम बनाइएको भ्रमण अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो । सकारात्मक ढङ्गले सामूहिक प्रवद्र्धनमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनका साथै कुना कन्दराका लुकेका कथावस्तुलाई समेटिकन प्रस्तुत हुने टेलिभिजन कार्यक्रमले पर्यटन प्रवद्र्धनका साथै सामाजिक चेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्ष प्रवद्र्धनका लागि टेलिभिजनले व्यापारिक नभई सहकार्यको रुपमा अघि बढाएको कार्यक्रमले भ्रमण वर्षलाई सफल बनाउन र आगामी दिनको साझेदारी बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्राकृतिक सुन्दरतासँगै समाजका लुकेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम प्रस्तोता राधाकृष्ण धितालले बताउनुभयो । कार्यक्रमलाई साथ दिएको बजाज कम्पनीका सहायक महाप्रबन्धक मीना सिंहले देशलाई चिनाउन र प्रवद्र्धन गर्न महत्वपूर्ण अभियानमा जिम्मेवारी निर्वाह गर्न पाउने संस्थाकै लागि गौरवको विषय भएको र अन्य व्यापारिक घरानाले पनि अभियानमा सहयोग गर्न प्रोत्साहित गर्ने बताउनुभयो ।
कार्यक्रमअन्तर्गत कुनै ठाउँको सदृश्य व्याख्या मात्रै नगरी त्यहाँको कथा भन्ने माध्यम पनि बनाइएको छ । सम्बन्धित पर्यटकीय गन्तव्यमा पुगेर स्थानीय जनजीवनसँग घुलमिल भई जीवन्त पारेर प्रस्तुत गरिएको उक्त कार्यक्रम नेपाली भाषासहित हिन्दी, अङ्ग्रेजी र चिनियाँ भाषामा ‘सवटाइटल’ गरी सामाजिक सञ्जाल तथा अन्य विभिन्न माध्यमबाट देश तथा विदेशमा प्रचार प्रसार गरिने बताइएको छ ।
