सीमा विवादबारे सरकारले भारतसँग तत्काल वार्ता गर्छ: पाण्डे

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारेका छन् । उनले भने,‘वर्तमान सरकारले एक ईन्चपनि जमिन गुम्न दिँदैन् । सरकार सीमा सुरक्षाको लागि पूर्ण प्रतिबद्ध छ । हामी सीमा सुरक्षाको लागि कुनै सम्झौता गर्दैनौं । हामी कुटनीतिक रुपमा समस्याको समाधान गर्छौं । मैले थाहा पाएअनुसार सरकारले छिट्टै भारतसँग वार्ताको लागि पहल गर्दैछ ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले सुगौली सन्धिमा नै भारतसँगको सीमाको बारेमा सबै कुरा टुँगो लगाईसकेको सुनाए । उनले भने,‘सुगौली सन्धिमै स्पष्ट नक्शा छ । त्यसले काम गर्छ । कालापानी र लिपुलेक अहिले चासो र संवेदनशील विषय हो, यो सबैको मनमनमा भिजेको छ । यो आजको विषय होईन् । लिपुलेकबाट भारतीय सेना हटाउनुपर्छ । कालापानी नेपालकै भूभाग हो । यो कुरा सुगौली सन्धिमै उल्लेख गरिएको छ । यसमा कुनै द्धिविधा छैन् । काली नदी यताका टिंकर, कालापानी, लिपुलेक नेपालकै हो ।’
उनले भारतीय सेनाले तत्काल उक्त नेपाली भुभाग छोड्न्पर्ने बताए । उनले भने,‘यो विवाद अब टुँगो लगाउनुपर्छ । भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्छ भनेर आज प्रधानमन्त्रीज्यूले पनि बोलिसक्नुभएको छ । कुटनीतिक माध्यमबाट छलफलको ढोका खोलिनुपर्छ । सरकारले सबै तयारी गरिसकेको छ ।’
फरक प्रसँगमा उनले विप्लवसँगपनि सरकारले वार्ताको लागि पहल गरिरहेको बताए । उनले भने,‘विप्लव समूहसँग हामी सामान्य सम्पर्कमा छौं । सरकार वार्ता गर्न तयार छ । तर, वार्ताको मोडालिटी के हुने हो त्यो छलफलको विषय छ । तर, वार्ताको विकल्प छैन् । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आओस् ।’
उनले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक तुल्याउने दिशामा लागिरहेको पनि सुनाए । यसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सोहीअनुसार भूमिका खेलेको उनको भनाई छ । उनले भने,‘प्रधानमन्त्रीज्युले म भ्रष्टाचार गर्दिन्, र गर्नपनि दिन्न भनेर संकल्प र घोषणा गर्नुभएको छ । सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरेर छोड्छ । कोहीपनि उम्किन पाउँदैनन् ।’ पाण्डेले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गरे । त्यस्तै, प्रधानमन्त्री ओलीले नयाँ ढंगले अघि बढ्ने कुरा गरेकोले मन्त्रिमण्डल हेरफेर हुनसक्नेपनि उनले संकेत गरे ।
नेताहरुको सत्ता स्वार्थले देश सुरक्षित हुन सकेन: डा. भण्डारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन् । उनले भने,‘देश भनेको सबैको साझा हो । देशप्रति जनता ईमानदारिता छन् ।
तर, नेताहरु ईमानदार भएनन् ।’ सरकारमा बसेका नेताहरुभन्दा जनता ईमानदार रहेको उनको भनाई छ ।
उनले नेपालको सुरक्षा निकायपनि देशको सीमाप्रति संवेदनशील नभएको गुनासो पोखे । उनले भने,‘सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कोहीपनि सीमानामा देखिएनन् । सरकारले उनीहरुलाई सीमा सुरक्षाको लागि कतैपनि पठाएको छैन् । यो गम्भिर प्रश्न हो । तराई जाउँ वा उत्तरपट्टिको कोरला नाकाको कुरा होस्, पीडा छन् ।’ तराईका जनताले पनि धेरै दुःख पाएको उनको भनाई छ । उनले भने,‘नेपालको सुरक्षा सरकारले वा नेपालका नेताले गरेका होईनन् । हाम्रो सीमाको सुरक्षा त नेपाली जनताले गरेका हुन् ।’
उनले सुस्ता, सप्तरी, सर्लाही, कञ्चनपुर, कोरला नाका सबैतिर समस्या रहेको सुनाए । उनले भने,‘कोरला नाकामा चीनले आफ्नोतर्फ बलियो उपस्थिति बनाएको छ । उसको सेनाको बलियो उपस्थिति छ । तर, नेपालतर्फ सुनसान छ । हाम्रोतर्फ ठगहरुको सलबलाहट छ । त्यही भएर सीमा मिचिएको छ।’ भण्डारीले मुलुकमा धेरै सरकार गठन भएको र धेरै प्रधानमन्त्री भएपनि नेतामात्रै धनी भएको तर देश र जनताको अवस्था दयनीय रहेको टिप्पणी गरे ।
नेपालको सरकार कमजोर हुँदा ठूला छिमेकीलाई फाईदा पुगेको उनको भनाई छ । उनले भारत र चीन दुवैसँग सीमाको विवाद कुटनीतिक रुपमा हल गरिनुपर्ने सुझाव दिए । उनले भने,‘नियम, कानून र पूर्वीय दर्शनको थिमअनुसार आफ्नो कुरा राखेर धैर्यतापूर्वक शिष्टाचार भएर कुटनीतिक आधारमा आफ्नो कुरा राख्नुपर्छ ।’ उनले नेपालका शासकहरुबाट देशको सीमाको सुरक्षा नभएको बताए ।
देशको सीमा समस्याको समाधानको लागि पछिल्लो समय मुलुकमा राष्ट्रिय सहमति बनेको सुनाउँदै यो खुशीको कुरा भएको उनले बताए । उनले भने,‘हामीले अब संयम र सक्षम कुटनीतिक पहल कादम चाल्नुपर्छ । नेताहरु ईमानदार हुनुपर्छ । सरकारले अब पहल गर्नुपर्छ । देशलाई अहिले संकट परेको छ । यस्तो बेलामा घोचपेच गर्नुहुँदैन् ।’
भण्डारीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाएको पनि टिप्पणी गरे । उनले भने,‘सबै मिलेर खाएका छन् । यो देशका वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सिभिल हस्पिटल छन्, यी सबै अस्पतालहरुमा एक एक अर्ब ईक्युवमेन्ट ल्याईदिएको भए कोहीपनि विदेश उपचार गर्न जानुपर्दैन थियो । डा. प्रेम ज्ञवालीले कोही पनि विदेशी उपचार गर्न जानुपर्दैन् भनेर भनिरहेका छन् । हामीले अब नेपालका अस्पतालहरुलाई सुविधा दिनुपर्छ । यहाँ पनि सक्षम चिकित्सकहरु छन् ।’
एनसेलमा पनि सबै मिलेर भ्रषटाचार गरेको उनको आरोप छ । ठेक्कापट्टामा पनि मिलेर नै खाएको उनको भनाई छ । उनले भने,‘तर, जनताका छोराहरुलाई बोरामा हालेर अरब पठाउने मात्रै काम भयो । अब करेक्शन गर्नुपर्छ । जनता असल र ईमानदार छन् । वाईडबडी, एनसेल, सुनकाण्ड सबै मिडियाले बाहिर ल्याएका हुन् । त्यसैले मिडियालाई धन्यवाद दिनुपर्छ ।’
उनले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको सुनाए । तर, भारतको विदेश नीति हस्तक्षेपकारी र चीनको साईलेन्स भएको सुनाउँदै नेपालले भारत र चीन दुवै राष्ट्रसँग कुरा गर्नुपर्छ । उनले भने,‘नेपाल त पूर्वीय दर्शनको लिड गरेको देश हो । त्यसैले हामीले लिड गर्नुपर्छ ।’ उनले नेपालका नेताहरु धेरै जना जेल जान लायक रहेका पनि उनको भनाई छ । उनले भने,‘सबै नेताहरुको छानबिन गरिनुपर्छ । यहाँ महरा, आलम जेल जान हुने अनि शारदा अधिकारी र हरिनारायण रौनियारलाई किन थुन्न सक्दैन् । किनकी यो सरकार माफियाहरुसँग डराएको छ ।’
कुटनीतिक रुपमा भारत र चीनसँग सीमा विवाद हल गर्नुपर्छ : डा. यादव

समाजवादी पार्टीका नेता डा. शिवजी यादवले भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नुपर्ने आफूहरुको सुझाव रहेको सुनाए । उनले भने,‘सीमा विवादबारे प्रधानमन्त्रीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाउनुभयो, यो अत्यन्तै राम्रो कुरा हो । यसले मुलुकभरि राम्रो सन्देश गएको छ । अहिले राष्ट्रिय एकता बनेको छ । बालुवाटारको बैठकले पनि राष्ट्रिय एकता मजबुद भएको सन्देश गएको छ ।’
यादवले सरकारले भारतसँग सीमा मिचेको बारेमा गम्भिर छलफल गर्छु भनेको सुनाउँदै यसको बारेमा सडकमा विरोध गर्न नहुने सुझाव दिए । उनले भने,‘सरकारले भारतसँग कुटनीतिक रुपमा समस्या समाधानको लागि पहल गर्छु भनिसकेको छ । सर्वपक्षीय बैठकमा सबैको एकमत छ । यस्तो अवस्थामा सडकमा प्रदर्शन गर्नु र सडक तताउने कुरामा म सहमत छैन् ।’ उनले भारत र चीन दुवैसँग नेपालले सीमा विवादबारे कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा नेपाल भ्रमणमा आउँदा नेपालको तत्कालिन संविधानसभामा ‘भारतले नेपालीबिना एउटापनि युद्ध नजितेको’ भनेर गरेको भाषण आफ्नो मानसपाटलमा अहिलेपनि ताजै रहेको यादवले स्मरण गराए । उनले भने,‘हामी नेपालीहरुले आफ्नो जमिनबारे कसैसँगपनि सम्झौता गर्दैनौं । हामी हाम्रो राष्ट्रियताप्रति प्रष्ट छौं ।’ उनले भारत र चीन दुवैले नेपालको सीमा मिच्न नपाउने बताए । दुवै देशसँग सम्बन्ध र मित्रता गहिरो रहेकोले दुवै तर्फबाट मित्रवत व्यवहार हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै, यादवले भ्रष्टाचारले अहिले देशमा जरा गाडेको पनि टिप्पणी गरे । उनले भने,‘हाम्रो देश भ्रष्टाचारको रोगले ग्रस्त छ । मुलुक सुशासन भए भ्रष्टाचार निर्मूल हुँदै जान्छ । सरकारले भ्रष्टाचारको सवालमा कडा कदम चालेको छ । सरकार भ्रष्टाचार रोक्नको लागि अग्रसर छ । यसमा जो कोहीपनि संलग्न भए सरकारले छोड्नेवाला छैन् ।’
उनले संविधान संशोधन गर्नको लागि पनि आफ्नो पार्टी सरकारमा रहने निश्कर्ष पार्टीको हालै बसेको केन्द्रिय कार्यसमिति बैठकले निर्णय गरेको सुनाए । उनले भने,‘संविधानलाई अग्रगामी बनाउनको लागि पनि संशोधन अनिवार्य छ । यसको लागि सरकारमा हाम्रो उपस्थिति अनिवार्य रहेको कुरा हामीले महशुस गर्यौं ।’ उनले अरु दललाई पनि सरकारमा सहभागी हुन आग्रह गरिएको जनाए ।
चीनले पनि नेपालको भूमी मिचेको छ, हतारमा विज्ञप्ती निकालेर गलत गर्यो: झा

राजपा नेपालसँगको एकताकोलागि वार्ता जारी रहेकोले एकता हुनेमा आफू आशावादी रहेको यादवको भनाई छ । उनले भने,‘एकीकरणको सवाल भनेको गम्भिर विषय हो । राजपासँग एकता हुन्छ भन्नेमा म आशावादी छु ।’
राजपा नेपालका महामन्त्री केशब झाले चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाएका छन् । तर, चीनले यसबारेमा हतार गरेर आफ्नो विज्ञप्ती निकालेको भन्दै उनले आपत्ति जनाए । उनले भने,‘चीनले हतारमा विज्ञप्ती निकाल्नु ठीक होईन् । चीनले कुटनीतिक मर्यादा देखाएन् ।’
उनले भारत र चीन दुवै देशसँग कुटनीतिक रुपमा सीमा विवाद हल गरिनुपर्नेमा जोड दिए । झाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सीमा विवादबारे सबैको एक स्वर रहेको सुनाउँदै कुटनीतिक रुपमा आफ्नो पहलकदमी चाल्नुपर्ने बताए । उनले भने,‘बालुवाटार बैठकमा हामीले पनि यो विषयमा सहमति जनाएका छौं । कसैको पनि फरक मत छैन् । हामी सबैको राष्ट्रिय एकता बनेको छ ।’
उनले सीमा विवादको बारेमा काठमाडौंमा भएका दैनिक प्रदर्शनप्रति पनि आफ्नो आपत्ति जनाए । उनले भने,‘राष्ट्रवादी बन्नलाई काठमाडौंमा प्रदर्शन गर्नुको कुनै अर्थ छैन् । यसले समस्याको समाधान हुँदैन् । यसको लागि त कुटनीतिक पहल गरिनुपर्छ । जुन सरकारले गर्छु भनेर बोलिसकेको छ ।’ कालापानी र लिपुलेकको विवादबारे सरकारले निकालेको विज्ञप्तीमा आफूहरुको पनि समर्थन रहेको उनले सुनाए ।
झाले राजा महेन्द्रले पञ्चायत जोगाउनको लागि भारतसँग लिपुलेकबारे सम्झौता गरेको भन्ने कुरापनि आईरहेको सुनाए । उनले भने,‘राजा महेन्द्रले भारतसँग सम्झौता गरेको हो त ? के हो बास्तविकता ? सरकारले यसको तथ्य र प्रमाण बाहिर ल्याउनुपर्छ ।’ भारतीय पक्षले १९६२ देखि नै आफ्नो राजनीतिक नक्शामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो पक्षमा राख्दै आएको पनि सुनाए । नेपालको संविधान २०७२ मा पनि ती भूभाग नेपालले छोडेको सुनाउँदै त्यसको जवाफ सरकारले दिनुपर्ने उनको माग छ ।
झाले सीमा विवादको समस्या समाधानको लागि वार्ता तथा सम्वादलाई नै बढावा दिनुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो त प्रष्ट धारणा छ, सरकराले अब आफ्नो प्रतिनिधि पठाउनुपर्छ । भारतसँग कुरा गर्नुपर्छ । कर्मचारीको लेभलमा, राजनीतिक लेभलमा र सरकारको तर्फबाट पनि डेलिगेट्स पठाईएको छ । बाहिर होहल्ला गरेर केहीपनि हुँदैन् ।’
भारत सरकारले पनि यो विषयालाई ठूलो ईस्यु बनाउन नहुने भन्दै वार्ता तथा सम्वादमार्फत समस्याको हल खोजिनुपर्ने कुरा उठाएको सुनाउँदै सरकारले सोहीअनुसार आफ्नो कदम चाल्नुपर्ने उनको सुझाव छ । उनले भने,‘यस्तो होहल्ला हामीले विगत लामो समयदेखि सुन्दै आएका छौं । तर, यो त राजनीतिक हत्कण्डामात्रै हो । समस्या अहिलेपनि ज्यूँको त्युँ छ ।’ उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध कसैले चाहेरपनि बिर्गान नसक्ने ठोकुवा गरे । उनले भने,‘हामीबीच जनस्तरमा बलियो सम्बन्ध छ । हामी त बोर्डरको मान्छे हो । भुक्ने कुकुरले टोक्दैन भन्छन् नि, सीमामा हामीले भोगेका छौं समस्या । हामीले हाम्रो भूमीको रक्षा गरिरहेका छौं । काठमाडौंमा होहल्ला गरेर केही हुँदैन् ।’
उनले वर्तमान सरकारलाई असफलको संज्ञा दिए । उनले भने,‘यो सरकार पूरै असफल भैसकेको छ । आज सुनकाण्ड भएको यतिका दिन भयो, खोई सुन कहाँ छ ? बालुवाटारको जग्गा फिर्ता ल्याउन सकेको छैन् । आफ्नो पार्टीको शीर्ष नेता मुछिएकोले हो कि किन हो ? यसबारेमा कुनै कदम चालेको छैन् ।’ वाईडबडीमा पनि भ्रष्टाचार भएको भनेर संसदीय समितिले भनेकोमा अहिलेसम्म दोषीलाई कारबाही नहुनु भ्रष्टाचार कति भएको छ ? भन्ने कुराको ज्वलन्त उदाहरण भएको उनको भनाई छ ।
झाले वर्तमान सरकारलाई पुरै फेल भएको संज्ञा दिँदै अंक दिँदा आफूहरुले शून्य अंक दिने बताए । उनले भने,‘अहिले देशमा आर्थिक गतिबिधि जिरो छ । शेयर बजारमा उथलपुथल छ । भ्रष्टाचारलाई सरकारले आफैंले पक्षपोषण गरेको छ । कालोबजारी बढेको छ । अहिले हरियो सागसब्जी किनेर खानसक्ने अवस्था छैन् । तर, सरकार ढोंगमा विश्वास गर्छ ।’ उनले मन्त्रीहरु परिवर्तन गर्दा केही राम्रो काम हुन्थ्यो कि भन्ने आशा आफूहरुमा पनि रहेको सुनाए ।
फरक प्रसँगमा उनले समाजवादी पार्टीसँग आफ्नो पार्टीको एकताको लागि छलफल चलिरहेको सुनाउँदै एकता हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘हामी दुई पार्टीबीच अहिले नेक–टु–नेकको अवस्था छ, हामी एकताको नजिक छौं ।’
