बालबालिका बेचबिखनमा

राजनीति

काठमाडौं, ३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले नेपालमा अझै बालबालिका बेचबिखनमा परेको बताउनुभएको छ । आयोगले आयोजना गरेको ‘नेपालमा बाल अधिकारको वर्तमान अवस्था’ विषयक छलफल कार्यक्रममा आयोगका सदस्य अन्सारीले देशमा बालबालिकाको क्षेत्रमा काम गर्ने २५ संस्था सक्रिय भएपनि यी बेचबिखनमा परेका बालबालिकाका अवस्था अझै पत्ता नलागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज राजनीतिक दलका नेताले केही बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अब यी बालबालिकाको भविष्य कस्तो रहन्छ भन्ने जिज्ञासा सबैमा परेको छ ।”

आयोगका उपनिर्देशक मञ्जु खतिवडाले समाजमा हाल पनि बालविवाह, बालश्रम र बालदुराचारको अवस्था उस्तै रहेकामा त्यसप्रति विचार गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकमा बालश्रम र बालविवाहको अवस्था परिवर्तन नभएकामा त्यसको सुधारको खाँचो औल्याउनुभयो ।
क्षमता रोजगारी र जनचेतनाको विषयमा काम गर्ने सामाजिक संस्थाका सभापति साजिदा खातुन सिद्धिकीउले राज्यले बालबालिकाको गुणात्मक शिक्षामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अधिवक्ता बालमाया विश्वकर्माले हाडनाता र जबर्जस्तीकरणीमा परेर जन्मेका बालबालिकाले अझै पनि नागरिकता निकाल्न नपाएका जानकारी दिनुभयो । संस्थाका प्रबन्धक कविताराज शाहले सामाजिक सञ्जालको शोषणमा बालिकाको तुलनामा बढी बालक शिकार हुन बाध्य भएका छन् भन्नुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुसालले वैदेशिक रोजगारीका कारण आमाबाबुबीच मनमुटाव भएर सम्बन्धविच्छेद भएका कारण बढी जसो बालबालिका सडकमा आइपुगेका छन् भन्नुभयो । सरकारले एक हजार १६६ बालबालिकालाई पारिवारिक पुनस्र्थापना गरी २६२ लाई हाल संस्थागत रुपमा आश्रय दिएर राखेको छ । १८ वर्ष मुनिका ४० जना बालिकालाई परिषद्ले केही समयपहिला उद्धार गरेको भुसालले जानकारी दिनुभयो ।