पोखरा, ५ मङ्सिर । आगामी मङ्सिर १५ गतेदेखि शुरु हुने दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको पोखरामा हुने महिला फुटबल प्रतियोगिताको प्यारापिट जोड्ने कार्य आजदेखि शुरु भएको छ । खेल मैदानको बनाउने जिम्मा भारतको ग्रेट स्पोर्टस् इन्फ्रा (जिएसआइ) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्याण्ड दुई दिनअघि पोखरा ल्याइपु¥याएको हो ।
“आइतबार सात कन्टेनर र सोमबार आठ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा ल्याइएको हो”, पाँच दिनभित्र तयार गरिने प्यारापिट तीन हजार ८०० क्षमताको हुने परियोजना प्रबन्धक दिपक बरालले जानकारी दिनुभयो । खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो आज साँझसम्म पोखरा आइपुग्ने बताउँदै उहाँले आज साँझबाटै फुटबल मैदानमा रोप्न शुरु गरिने बताउनुभयो ।
उहाँका अनुसार मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम भइरहेको छ ट्रयाक पाँच दिनभित्र पूरा भइसक्नेछ । मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत पोखरामा ट्रयाथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिकेट, महिला फुटबल र भारोत्तोलनलगायत नौ वटा खेल सञ्चालन हुनेछन् ।
