काठमाडौँ, ६ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उपनिर्वाचनमा जनताहरुलाई सजग भई विवेकपूर्ण रूपमा आफ्नो मत राख्न अनुरोध गर्नुभएको छ । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई भोट माग्न आज नगरकोटमा आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले काँग्रेसले मात्रै लोकतन्त्रको संरक्षण गर्न सक्ने दाबी गर्नुभयो ।
सिटौलाले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै काँग्रेसले मात्रै जनता र लोकतन्त्रको पक्षमा काम गर्न सक्ने जिकिर गर्नुभयो । उहाँले काँग्रेसका उम्मेदवारलाई मतदान गरी लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको विकासका लागि काँग्रेसका उम्मेदवार सक्षम भएको जिकिर गर्नुभयो । त्यसअवसरमा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीलगायतले प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको रिक्ततालाई काँग्रेसका उम्मेदवार भडेलले पूरा गर्ने बताउनुभयो ।
नेविसङ्घ पूर्वकेन्द्रीय सदस्य नयन सिंह महरले आफ्नै अगाडिको कमलविनायक–नगरकोट सडकखण्डको दुरावस्थाले नै नेकपाको विकास र समृद्धिको नारालाई उदाङ्गो पारेको बताउँदै दोहो¥याएर नगरकोटका जनतालई गल्ती नगर्न सुझाव दिनुभयो ।
