काठमाडौं, २३ मंसिर । निशु चन्दननाथ नगरपालिकाअन्तर्गत रहेको पशु सेवा शाखा कार्यालयले एक हजार ४०३ पशु चौपायालाई निःशुल्क भ्यागुते र चरचरे रोगविरुद्धको खोप लगाएको छ । एक हजार ३७४ गाईगोरु र २९ भैँसीलाई भ्यागुते तथा चरचरे रोगविरुद्धको खोप लगाइएको पशु सेवा प्राविधिक बलराम सेजुवालले जानकारी दिनुभएको छ ।
नगरपालिका–१ देखि ६ वडाका किसानका लागि चन्दननाथ नगरपालिकाअन्तर्गत रहेको पशु सेवा शाखामा र ७ देखि १० वडासम्मका किसानका लागि चन्दननाथ नगरपालिकाको ९ वडाको तलिउमको उमगाडमा खोप लगाइएको उहाँको भनाइ थियो ।
पछिल्लो चरणमा भ्यागुते र चरचरे रोगविरुद्धको खोप लगाउने पशु कृषकको सङ्ख्या बढ्दै जान थालेको प्राविधिक सेजुवालको भनाइ थियो । उहाँका अनुसार गाई, भैँसी, गोरुलगायतका घरपालुवा जनावरमा खोप लगाइएको छ । यसअघि, भ्यागुते र चरचरे रोग लागेका जनावरको उपचारका लागि छिटफुट रुपमा खोप लगाउने गरिएकोमा अहिले यो सङ्ख्या ह्वात्तै बढेको उहाँको भनाइ थियो ।
भ्यागुते र चरचरे रोग लागेका जनावरको तीघ्रा सुनिने, मुखबाट ¥याल आउने, ज्वरो आउनेजस्ता लक्षण देखा पर्ने गर्दछ । भेडाब्राख्रालाई पीपीआर र कुकुरलाई एन्टी रेबिजविरुद्धको खोप लगाउँदै आएको सेजुवालले बताउनुभयो । गत वर्ष जुम्लामा एक हजार ८४९ पशु चौपायालाई निःशुल्क भ्यागुते र चरचरे रोगविरुद्धको खोप लगाइएको थियो ।
