काठमाडौं, ३० मंसिर । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उहाँकी श्रीमती ३५ वर्षीया मैयाँ, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको छ ।
बाँकी एक २४ वर्षीयाको भने केएमसी सिनामङ्गलमा उपचार हुँदाहुँदै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घटनामा १६ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करीब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो । भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको काफ्लेले बताउनुभयो ।
अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जलि व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष दाहलले आज एक शोक वक्तव्य निकालेर उक्त घटनाका घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
उहाँले दुर्घटनामा निधन भएका परिवारजनका लागि उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गर्नुभएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा२ख ४४६८ नंको यात्रुबाहक बस लामोसाँघु जिरी सडकमा दुर्घटना हँुदा १५ जनाको मृत्यु भएको थियो भने १८ जना गम्भीर घाइते भएका थिए ।
यसैबीच प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले पनि उक्त दुर्घटनाले आफू निकै मर्माहित भएको बताउँदै दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति दुःख एवं समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामनासमेत गर्नुभएको छ ।
