काठमाडौं, ३ पुस । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटमध्ये झापाका १३ जना प्रदेश सभासदस्यले विभिन्न धार्मिक क्षेत्रका विकास निर्माणका लागि रु एक करोड बजेट विनियोजन गर्नुभएको छ ।
झापाबाट १३ जना प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र पूर्वाधारका लागि आएको रु छ करोड ५० लाख बजेटमध्ये रु एक करोड मठमन्दिरका भवन निर्माण र कार्यक्रमका लागि सो रकम छुट्याउनुभएको हो ।
प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७६ बमोजिम आर्थिक वर्ष २०७६/०७७ मा प्रत्येक सदस्यलाई रु ५० लाखका दरले कार्यक्रम छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रदेशसभा सदस्य हिराकुमार थापाले १० वटा योजनामध्ये कनकाई नगरपालिका–५ मा रहेको कोटीहोम प्रणामी सामुदायिक भवन निर्माणका लागि रु पाँच लाख, क्षेत्र २ अन्तर्गत १ का अर्का प्रदेशसभा सदस्य एकराज कार्कीले १७ योजनामध्ये विर्तामोड नगरपालिकामा रहेको मुश्लिम सामुदायिक मदरसा भवन निर्माणका लागि रु १० लाख, कनकाई नगरपालिकामा रहेको नवदुर्गा मन्दिर शीतलचोक ज्येष्ठ नागरिक भवन निर्माणमा रु सात लाख, विर्तामोडकै ग्रामकाली मन्दिरको सामुदायिक भवन निर्माणमा रु पाँच लाख छुट्याउनुभएको छ ।
क्षेत्र नं ५ का प्रदेशसभा सदस्य इन्दिरा राईले १० वटा योजनामध्ये कमल गाउँपालिकामा रहेको किराँत चोलुङ माङ्गहीम भवन निर्माणका लागि रु पाँच लाख ५० हजार, दमकको पर्यटकीय मन्दिर धनेश्वरधाम गेट निर्माणका लागि रु पाँच लाख ७५ हजार, निर्वाचन क्षेत्र ३ अन्तर्गत १ प्रदेशसभा सदस्य वसन्त बानियाँले आठ वटा योजनामध्ये भद्रपुर नगरपालिकामा रहेको दुर्गा मन्दिरको भवन निर्माणका लागि रु नौ लाख, कचनकवल गाउँपालिका ६ र ७ विष्णु पाञ्चायन मन्दिरमा सत्संग भवन निर्माणका लागि रु १० लाख, सांसद ओमप्रकाश सरावगीले १७ योजनाबाट भद्रपुरको गायत्री मन्दिर सामुदायिक भवन निर्माणका लागि रु छ लाख बिनियोजन गर्नुभएको छ ।
प्रदेशसभा सदस्य श्री प्रसाद मैनालीले १३ योजनामध्ये मेचीनगर–७ को राधाकृष्ण मन्दिर सामुदायिक भवन निर्माणका लागि रु छ लाख, ७ नं कै झिलझिले नर्वदेश्वर शिवालय मन्दिरको शौचालय तथा होमकुण्ड निर्माणका लागि रु पाँच लाख, क्षेत्र नं ५ अन्तर्गत २ का प्रदेशसभा सदस्य अर्जुन राईले सात योजनामध्ये नामङ्न्याल कुछे जिल्ला बौद्ध गुम्बा कम्पाउड निर्माणमा रु आठ लाख, निर्वाचन क्षेत्र नं २ अन्तर्ग २ का प्रदेशसभा सदस्य बृखबहादुर प्रधानले अर्जुनधारा–९ बाह्रघरेमा रहेका ग्रागी विद्यापीठ भवन निर्माणमा रु पाँच लाख, अर्जुनधारा–६ को भीमसेनथान मन्दिरमा आवास निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गर्नुभएको छ ।
प्रदेशसभा सदस्य जसमाया गजमेर, राधा थापा, पूर्णसिंह राजवंशीले विद्यालयका भवन निर्माण, सडक र आत्मनिर्भर बनाउन विभिन्न सशक्तिकरणका कार्यक्रममा बजेट विनियोजन गर्नुभएको छ । सबै सदस्यका पूर्वाधार कार्यक्रमलाई अध्ययन गर्दा सदस्यले धार्मिक क्षेत्रको विकासलाई विशेष महत्व दिएको देखिन्छ । प्रत्येक सदस्यको रु ५० लाख बजेटमध्ये जिल्ला समन्वय समितिको प्रशासनिक र प्रतिनिधि खर्चका लागि रु ७५ हजारका दरले राखिएको छ ।
भ्रषण वर्ष सफल बनाउन फोटो पत्रकारको महत्वपूर्ण भूमिका–मुख्यमन्त्री राई
काठमाडौं, ३ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिलाई सफल बनाउन फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल फोटो पत्रकार महासङ्घको प्रथम महाधिवेशनको आज क्यामराबाट फोटो खिचेर उद्घाटन गर्दै उहाँले नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय, धार्मिक, प्राकृतिक, हिमाली क्षेत्रको प्रचारप्रसार विश्व छिमकी तथा विश्वसामु गरी समृद्ध नेपाल बनाउन सार्थक भूमिका खेल्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री राईले फोटो पत्रकारले देशलाई सही बाटोमा ल्याउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको स्मरण गर्दै संविधानले सबै वर्गको हकअधिकार र पेशाको सुरक्षाको प्रभावकारी कार्यान्वयनको सुनिश्चित गरेको बताउनुभयो ।
उहाँले मुलुकको व्यापारघाटा न्यूनीकरणका लागि चियाको गुणस्तर कायम गरी निर्यातका लागि इलाममा चिया विकास कार्यालय स्थापना गरिएको जानकारी दिँदै बङ्गलादेशसँग कृषि उत्पादन निर्यातका लागि महत्वपूर्ण व्यापारिक छलफलका लागि आज राजदूत तथा अधिकारीसँग छफलफल कार्यक्रम राखिएको छ भन्नुभयो । मुख्यमन्त्री राईले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रचारका लागि फोटो पत्रकारलाई भ्रमणमा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले मन्त्री तथा नेताको कमीकमजोरी तथ्यसहित समाचार सम्प्रेषण गरेमा मुलुकमा सुशासन कायम हुने बताउनुभयो । उहाँले प्रदेश सरकार पत्रकारको सुरक्षाप्रति चिन्तित रहेको छ भन्दै सरकारले कार्यविधि बनाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक पत्रकारको जीवनयापनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश विष्टले फोटो पत्रकारलाई प्राविधिक दक्षता प्रदान गर्न महासङ्घले आवश्यक तालीमको आयोजना गरिरहेको छ भन्नुभयो । नेपाली काँग्रेस प्रदेश सचेतक केदार कार्कीले मुलकमा सुशासन कायम गर्न क्यामरा प्रयोग गर्न आग्रह गर्नुभयो ।
फोटो पत्रकार महासङ्घका केन्द्रीय सभापति ध्रुव आले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मोरङ अध्यक्ष ऋषि पोखरेल, नेपाली काँग्रेस मोरङ सचिव मोदराज घिमिरे, फोटो पत्रकार महासङ्घका महासचिव हरि रेग्मी, प्रदेश प्रमुख बेदराज पौडेल, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले नेपाल भ्रमण वर्ष पूर्वसन्ध्यामा भएको यस कार्यक्रमले सकारात्मक सन्देश दिने र समृद्ध पत्रकार बनाउनुका लागि पत्रकारमैत्री कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेवापत पत्रकार मोहन भण्डारी र हर्ष सुब्बालाई रु २१ हजार १०० सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । महाधिवेशनमा ६४ जिल्लाका २०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । महासङ्घ विसं २०७४ चैत २८ गते स्थापना भएको हो ।
