श्रमिक महिलालाई पारिश्रमिकमा विभेद

आर्थिक राजनीति

काठमाडौं ६ पुस । श्रमिक महिलाहरुले कामअनुसार पारिश्रमिक नपाएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । श्रमिक महिला रक्षा सङ्घले आज बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्षेत्र विषयक कार्यक्रममा सहभागीले रोजगारदाताले महिलाले क्षमताअनुसार काम पनि नपाउने र पारिश्रमिकमा विभेद गरेको बताउनुभयो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले समान काममा समान ज्याला दिनुपर्ने र नदिनेलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले लागू गरेको सामाजिक सुरक्षा ऐन स्थानीयस्तरमा कार्यान्वयन गर्नका लागि सबैले चासो राख्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य रमा अर्यालले महिला कामदारको विषयमा विवरण दिन नमान्ने र सामाजिक सुरक्षाका कारण पीडामा परेका महिला सार्वजनिक पनि हुन नसक्ने समस्याको समाधान आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ का उपनिर्देशक पवन भट्टले बनेका सबै कानूनलाई सरोकारवाला पक्ष बसेर कार्यान्वयनमा लैजानु नै अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो ।

सङ्घका संस्थापक अध्यक्ष सविना तामाङ, नेकपाका सावित्रा अर्याल, नेपाली काँग्रेसका रिजन श्रेष्ठ, नेपाल टे«ड युनियन महासङ्घका संयोजक दुर्गाप्रसाद मरासिनी, अधिवक्ता शिव गौडेल लगायतले श्रमिकलाई कामअनुसार ज्याला दिनुपर्नेमा जोड दिनुभयो ।